• २३ असोज २०८२, बिहिबार

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

blog

देउखुरी (दाङ),  असोज २२ गते ।  कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहनुभएको छ । 

घोेराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उहाँका अनुसार अरु समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उहाँको भनाइ छ । 

आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उहाँले सुनाउनुभयो । “बुवा गुइठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु”, ७० वर्षे बादीले भन्नुभयो । उहाँका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म मादलको काम भ्याइनभ्याइ छ । यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घरखर्च चलाएको पनि उहाँले उल्लेख गर्नुभयो । 

तिहारमा देउसी भैलो खेल्नेहरु हरेक वर्ष जसो उहाँको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन् । नयाँ मादलको आकारअनुसार रु सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उहाँले सुनाउनुभयो । 

उहाँको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र  रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन् । 

उहाँलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्नुहुन्छ । आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाउनुभयो । आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको बताउनुभयो । उहाँको परिवारमा कान्छो छोरा पनि मादल बनाउन सिकेको उहाँको भनाइ छ ।

उहाँ मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्नुहुन्छ । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उहाँको अनुभव छ । रासस