• २१ असोज २०८२, मङ्गलबार

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

blog

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटिएको नयाँ प्रजातिको सुनाखरी । तस्बिर सौजन्यः बासुदेव न्यौपाने

नवीनराज कुइँकेल

लमजुङ, असोज २१ गते । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा लमजुङको भुजुङ क्षेत्रमा थप नयाँ प्रजातिको सुनाखरी भेटिएको हो । 

नयाँ भेटिएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा सुनाखरी प्रजातिको सङ्ख्या दुई सय २४ पुगेको छ । यसअघि दुई सय २३ प्रजातिका सुनाखरी अभिलेख गरिएको थियो । एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक बासुदेव न्यौपाने र प्राकृतिक स्रोत संरक्षण सहायक विज्ञान जिसीले गरेको खोज अन्वेषणका क्रममा तामु गाउँदेखि न्योहजेको १९५० मिटर उचाइको जङ्गलमा बल्डोफाइडम बाइसेटम प्रजातिको सुनाखरी भेट्नुभएको हो । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले भुजुङक्षेत्र सुनाखरीका लागि महत्त्वपूर्ण रहेकोे बताउनुभयो । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’ मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । 

यीमध्ये एक सय ८१ प्रजातिका सुनाखरी भुजुङ क्षेत्रमा पाइन्छ । अन्नपूर्ण क्षेत्रभित्र भुजुङमा मात्र ८० प्रतिशत सुनाखरी रहेको रेग्मीले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणको क्रममा आठ सय मिटरदेखि ४५ सय मिटरसम्मको उचाइमा सुनाखरी पहिचान गरिएको छ । 

यसअघि वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरूवाको नेतृत्वको टोलीले झण्डै एक वर्ष लगातर अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अनुसन्धान गरेको थियो । भौगोलिक विकटता र मौसम प्रतिकुलताका कारण कतिपय ठाउँमा पुग्न नसकिएको जनाउँदै संरक्षण अधिकृत तिरूवाले अन्नपूर्ण पेरिफेरिमा सुनाखरीका अझै थप प्रजाति भेटिन सक्ने बताउनुभयो । 

फूल फुल्ने एकदलीय बिरूवा प्रजातीमा पर्ने सुनाखरी जमिन (भुइँ), सडेगलेका वस्तु, रूख र पाखापहराको चेपमा उम्रने गरेको उहाँको भनाइ छ । गुणकारी वनस्पतिमा पर्ने सुनाखरी प्रजातिअनुसार विभिन्न याममा फुल्ने गरेको संरक्षण अधिकृत तिरूवाले बताउनुभयो ।

“सुनाखरी खाना र औषधीका रूपमा प्रयोग गरिन्छ, फूल फुल्दा आकर्षक देखिने हुँदा यसले प्रकृतिमा सौन्दर्य थपेको हुन्छ” उहाँले भन्नुभयो, “संसारमा अन्त कतै नपाइने सुनाखरी पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ ।” सुनाखरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा सूचीकृत वनस्पती हो ।

औषधीय गुणका भएका कारण कतिपय प्रजातिको सुनाखारीको अवैध तस्करी हुँदैआएको छ । हिमालदेखि तराईसम्मको भूभागमा पाइने सुनाखरीको संरक्षणमा सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले बताउनुभयो । 

देश विदेशका वनस्पतिविद् र वैज्ञानिकहरूले अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अध्ययन तथा अनुसन्धान गरेको उहाँको भनाइ छ । पाँचऔँले लगायत नेपालमा सूचीकृत सुनाखरीमध्ये एकतिहाइ प्रजाती औषधीजन्य प्रयोगमा छन् ।