• २१ असोज २०८२, मङ्गलबार

भुर्तेलको अर्धशतकमा नेपालको जित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २१ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप भएको दोस्रो अभ्यास खेलमा नेपालले सोमबार कतारलाई १६ रनले हराएको छ । 

यसअघि नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई सजिलै छ विकेटले पराजित गरेको थियो । गत हप्ता वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० शृङ्खला पनि जित्ने नेपालले दुवै अभ्यास खेल जितेर आफूलाई आगामी टी–२० विश्वकपमा खेल्ने प्रमुख दाबेदार टिमका रूपमा प्रस्तुत गरेको छ ।

ओमानमा हुने विश्वकप छनोट प्रतियोगिता बुधबार सुरु हुँदै छ । विश्वकप छनोटमा नौ टोली सहभागी छन् । तीमध्ये शीर्ष तीन टिम विश्वकपमा खेल्नयोग्य हुने प्रावधान छ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्ने छ ।

कतारविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित दुई ओभरमा सात विकेटको क्षतिमा १७० रनको राम्रो स्कोर तयार पा¥यो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाएपछि नेपालले राम्रो सुरुआत पाएको थियो । नेपालको पालिमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले पनि उपयोगी योगदान दिनुभयो । दुवैले समान ३८–३८ रन बनाए । मल्ल अन्त्यसम्म आउट हुनुभएन ।

कतारका लागि मुनिर साद र इक्रमुल्लाह खानले दुई/दुई तथा आरिफ उल्लाह र मुजिबुर रहमानले एक/एक विकेट लिनुभयो । कतारले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा छ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । मोहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रनको पालि खेलेर पनि नेपाललाई जितबाट वञ्चित पार्न सक्नुभएन । नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिनुभयो । यसै गरी नन्दन यादव, दीपेन्द्रसिंह र ललित राजवंशीले एक/एक विकेट हासिल गर्नुभयो ।