• २१ असोज २०८२, मङ्गलबार

अस्पताल उपकरणमा राजस्व घटाउन निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २१ गते । अस्पतालमा प्रयोग हुने एक्सरे, सिटी स्क्यानलगायतका रेडियोधर्मी पदार्थ प्रयोग हुने उपकरण आयात गर्दा सरकारले लिँदै आएको गैरकर राजस्व घट्ने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार उक्त कर घटाउने निर्णय गर्नुभएको हो । यस्तो कर अहिले विज्ञान मन्त्रालयले अस्पतालमा प्रयोग हुने सामग्रीको प्रकृति अनुसार फरक फरक तरिकाले एकमुष्ट रूपमा लिने गरेको छ । यो मूल्य अभिवृद्धि करभन्दा फरक कर हो । 

मन्त्री पुनले अहिले लिइरहेको भन्दा न्यून कर लिएर यस्ता उपकरण आयात गर्ने व्यवस्था मिलाउन मन्त्रालयका विज्ञान सचिव विश्वबाबु पुडासैनीलाई निर्देशन दिनुभएको हो । यस्तो कर अस्पतालको उपकरण ल्याउन सिफारिस दिने क्रममा मन्त्रालयले लिने गरेको छ । मन्त्री पुनले भन्नुभयो, “कर नै नलिने भन्ने होइन तर अहिले लिइरहेको भन्दा न्यून कर तोकेर उपकरण आयात गर्न दिने निर्णय भएको हो ।” कुन उपकरणका लागि कति कर लिने भन्ने निर्णय सिफारिस दिने समयमा नै तोक्ने गरिएको जानकारी दिँदै मन्त्री पुनले अब भने कार्यदल गठन गरेर उसैले दिने सिफारिसका आधारमा तय गरिने बताउनुभयो । 

मन्त्रालयका सचिव पुडासैनीले पनि मन्त्रीको निर्देशन अनुसार कार्यदल गठन गरेर यो प्रक्रिया अघि बढाउने बताउनुभयो । यसैबिच मन्त्री पुनले शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी बनाउन र यसका लागि आवश्यक अनुगमन गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको छ । परामर्श व्यवसायको नाममा ठगी धन्दा बढेको गुनासो आउन थालेपछि मन्त्री पुनले त्यस्ता संस्थाको दर्ता तथा नवीकरण प्रक्रियामै कडाइ गर्न निर्देशन दिनुभएको हो । 

मन्त्री पुनले भन्नुभयो, “बदमासी गर्ने परामर्श व्यवसायीलाई तह लगाउने हो । यसरी तह लगाउन उनीहरूको नवीकरण गर्ने बेलामा कडाइ गर्ने हो ।”