• २१ असोज २०८२, मङ्गलबार

कांग्रेसमा ‘विशेष महाधिवेशन’ बहस

blog

निर्वाचनपछि महाधिवेशन : संस्थापन पक्ष, तत्कालै गर्नु पर्छ : संस्थापनइतर पक्ष  

गोरखापत्र समाचारदाता 

ललितपुर, असोज २१ गते । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस तीव्र रूपमा उठेको छ । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी आन्दोलनको रापतापमा सबै पार्टीभित्र नेतृत्वसँगै साङ्गठानिक रूपान्तरणको बहस भइरहँदा कांग्रेसमा पनि विशेष महाधिवेशनका सन्दर्भमा दुईधार देखिएको हो । 

सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ गतेको निर्वाचनपछि नियमित महाधिवेशन गर्ने अडान लिएको छ तर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइराला पक्षले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा निर्वाचनमा जानुपर्ने माग राखेर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । सहमहामन्त्री महेन्द्र यादवले फागुन २१ गते निर्वाचन हुने घोषणा भइसकेकाले विशेष महाधिवेशन र नियमित महाधिवेशन गर्न नसकिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस एकढिक्का भएर निर्वाचनमा जानु पर्छ । त्यसपछि नियमित महाधिवेशन गर्नु पर्छ, किनभने नयाँ नेतृत्व चयन गरेर पनि निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बन्न सकेन भने त्यसको कुनै अर्थ रहँदैन ।”

सहमहामन्त्री यादवले सभापति देउवाकै नेतृत्वमा निर्वाचनमा जाने कि कार्यवाहक तोक्ने भन्ने विषयमा असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताउनुभयो । उहाँले सभापति देउवाको दोस्रो कार्यकाल १५ औँ महाधिवेशनसँगै सकिने भएकाले पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउनका लागि ‘जे निर्णय गरिए पनि सर्वसम्मत’ गरिने प्रस्ट पार्नुभयो । 

नेता गुरुराज घिमिरेले ७७ वटै जिल्लामा हस्ताक्षर अभियान सञ्चालन भइरहेको र केन्द्रीय कार्यसमिति बैठकअगाडि नै सभापति देउवालाई सङ्कलित हस्ताक्षर बुझाइने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष महाधिवेशनका लागि चाहिने ४० प्रतिशत हो तर सजिलै ५१ प्रतिशत पुग्छ । त्यसपछि केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनको मिति तोक्नु पर्छ भन्ने हाम्रो माग हो ।” नेता घिमिरेले नीति, नेतृत्व, संरचना, निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरेर नै हस्ताक्षर अभियान सञ्चालन गरिएको बताउनुभयो ।