केदार तिमल्सिना
बनेपा, असोज २० गते । अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षति पुगेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डतर्फको अस्थायी डाइभर्सन सडक तत्काल सञ्चालनमा आउन नसक्ने भएपछि यात्रुहरु मर्कामा परेका छन् ।
बिपी राजमार्गको अस्थायी डाइभर्सन सडक बाढीले बगाएपछि पूर्वी पहाडी र तराईका जिल्ला जाने सवारी साधनहरु अरनिको राजमार्ग हुँदै लामो यात्रा गर्न बाध्य भएका हुन् ।
बाढीपहिरोले बिपी राजमार्गको अस्थायी सडकमा क्षति पुगेपछि दसैँ मनाउन आफ्नो गन्तव्यमा पुगेका यात्रुहरु सङ्घीय राजधानी काठमाडौँ फर्कन तथा काठमाडौँबाट आफ्नो गन्तव्यमा जान अरनिको राजमार्गको खाडीचौर–दोलखा–मन्थली–खुर्कोटको वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन् ।
बिपी राजमार्गको डाइभर्सन बगाएपछि यात्रु तथा सवारी साधनहरुले आफ्ना गन्तव्यमा पुग्न झण्डै एकसय किलोमिटर लामो सडक घुम्नुपर्ने बाध्यता रहेको छ । बिपी राजमार्ग बन्द भएपछि यात्रुहरुले अरनिको राजमार्गको धुलिखेलदेखि चरिकोटसम्म करिब एकसय किलोमिटर सडक र चरिकोटबाट सिन्धुलीको खुर्कोटसम्मको ७५ किलोमिटर सडकमा करिब ६ घण्टाको यात्रा गर्नुपर्नेछ ।
बिपी राजमार्ग सुचारु भएको भए यात्रुहरुले धुलिखेलदेखि खुर्कोटसम्मको ८७ किलोमिटरको सडकको यात्रा गर्नुपर्ने हुन्थ्यो । वैकल्पिक मार्ग प्रयोग गर्दा सडक अवरुद्ध नभएको खण्डमा यात्रु तथा सवारीलाई थप तीन घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ । बाढीले बिपी राजमार्गको अस्थायी डाइभर्सन सडक बगाएपछि अहिले पैदल यात्रा गर्ने अवस्था छैन ।
सडक डिभिजन भक्तपुरका सूचना अधिकारी ई. बिन्दु अधिकारीले रोशी खोलाको बहाव नघटेसम्म क्षतिको यथार्थ विवरण आउन नसक्ने बताउनुभयो । उहाँले तत्कालको अवस्था हेर्दा विपी राजमार्गको चौकीडाँडादेखि बर्खे खोलासम्मको करिब ३.४१० किलोमिटर डाइभर्सन सडकमा क्षति पुगेको बताउनुभयो ।
उहाँले खोलाको छेउबाट अस्थायी डाइभर्सन सडक बनाउनुपर्ने अवस्था रहेकाले खोलाको बहाव कम नभएसम्म सडकको काम गर्न नसकिने बताउनुभयो । उहाँले सडकको बहाव कम भएको खण्डमा एक साताको अवधिमा क्षतिग्रस्त सडकमा सवारीसाधन सञ्चालन गराउन सकिने बताउनुभयो ।
उहाँले बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपछि यसको विकल्पमा अरनिको राजमार्गहुँदै दोलखा–रामेछाप–खुर्कोटको बाटो र बिपी राजमार्गबाट मध्यपहाडी राजमार्ग जोड्ने सित्खा हुँदै सिन्दुरेटार–तेमाल–भकुण्डेको बाटो प्रयोग भएको बताउनुभयो ।
उहाँले भकुण्डे तेमालको सडकमा साना र फोरह्विल भएका साना सवारी साधन मात्र सञ्चालन भएको बताउनुभयो । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने भकुण्डे–तेमाल हुँदै जाने सडकलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न आफूहरुले सिफारिस नगरेको जनाएको छ ।
उक्त सडक खण्ड कच्ची र साँघुरो भएकाले प्रहरीले उक्त मार्गलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सिफारिस नगरेको जनाएको हो । गत वर्ष असोज दोस्रो साताको बाढीपहिरोले बिपी राजमार्गको करिब २९ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि सडक डिभिजनले तीन साता लामो प्रयासमा डाइभर्सन सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको थियो ।
डिभिजनले उक्त सडकमा रहेको अवरुद्ध हटाउनका लागि चौकीडाँडादेखि बर्खे खोलासम्मको दूरीमा विभिन्न स्थानमा उपकरणहरु राखे पनि अहिलेको बाढीले कटुञ्जे, चारसयबेंसी लगायतको स्थानबाट उपकरणहरु ल्याउन सक्ने अवस्था नरहेकाले चौकीडाँडाबाट अगाडि कताबाट उपकरण लैजाने भन्ने विषयमा अध्ययन गरिरहेको उक्त साइडका ई. दुर्गाप्रसादले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बाढीले राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि अहिले साविकमा सडक रहेको स्थानबाट पैदल हिँड्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले मङ्गलटारबाट मोटरसाइकलाई तेमालको बाटो पठाउनका लागि मङ्गलटार–तेमाल सडकको पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । उक्त सडकको पहिरो पन्छाएपछि मङ्गलटारबाट झोलुङ्गे पुल तरेर तेमाल निस्केर धुलिखेलतर्फ जान सकिने बताउनुभयो ।
रोशी खोलामा आएको बाढी र विभिन्न स्थानमा आएको पहिरोबाट बिपी राजमार्गको बर्खेखोलादेखि बर्खेखोलासम्म विभिन्न १४ स्थानमा डाइभर्सन सडक पूर्णरुपमा क्षति पुगेको थियो । बाढीबाट माम्ती खोलामा चारसय मिटर, माम्तीमा २३० मिटर, माख्लो पिप्लेमा २२० मिटर, तल्लो पिप्लेमा २३५ मिटर, डालाबेंसीमा चारसय मिटर, कालढुङ्गास्थित भ्याकुरे खोलामा १७५ मिटर, बोक्सीकुनामा दुई सय मिटर सडक बगाएको छ ।
यस्तै, राजमार्ग अन्तर्गत चिउरीबासमा १७५ मिटर, नार्केमा १५० मिटर, गिम्दीबेंसीमा दुईसय मिटर, चारसयबेंसीमा २५० मिटर, कटुञ्जेबेंसीमा १५० मिटर, चौकीडाँडामा ३५० मिटर बाढीबाट सडक पूर्णरुपमा क्षति भएको सूचना अधिकारी ई. अधिकारीले बताउनुभयो । उहाँले राजमार्गको पिप्लेमा आएको सुख्खा पहिरोबाट करिब ३५० मिटर सडकमा क्षति पुगेको बताउनुभयो ।