• २१ असोज २०८२, मङ्गलबार

निर्वाचन तयारीबारे छलफल : मनाङ उपनिर्वाचन स्थगित

blog

काठमाडौँ, असोज २० गते । २०८२ फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारी तथा कार्यक्रमबारे नेपाल सरकारका मन्त्रीहरू र निर्वाचन आयोगबीच आइतबार छलफल भएको छ।

छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधर, निर्वाचन आयुक्त सगुन शम्शेर जबरालगायतका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्याे ।

छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधि सभा निर्वाचनको तयारीका बारेमा आयोगले गरेको काम–कारबाहीको जानकारी गराउनु भएकाे  थियाे । 

सो अवसरमा नेपाल सरकारको तर्फबाट स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत, साधन र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएकाे जानकारी आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले दिनुभयो । 

उपनिर्वाचन स्थगित 

यसैबीच, मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन स्थगित गरिएको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०८२ कातिक १७ गतेका लागि तोकिएको उक्त उपनिर्वाचन हाललाई स्थगन गरिएको हो।

आयोगले स्पष्ट पारेको छ कि भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि पूर्व निर्धारित कार्यतालिकाअनुसारका कार्यक्रम सञ्चालनमा असर परेकाले उक्त निर्णय गरिएको हो।

निर्वाचन आयोगले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालामा सहयोगका लागि आग्रह गरेको छ।