काठमाडौँ, असोज २० गते । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
असोज १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाका कारण ड्यामसाइड इलाकामा पुगेका १६ जना स्थानीय र मजदुर समूह जोखिममा परेका थिए । तीमध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याइएको सेनाले जनाएको छ ।
उद्धार गरिएका सबै जनालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ ।
यसैबीच, हराइरहेका चार जनाको खोजी कार्य निरन्तर भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका खोज तथा उद्धार टोलीहरूले ड्यामसाइड, भाङ्गे झरना लगायत पाँच स्थानमा खोजी कार्य सञ्चालन गरिरहेका छन् ।
सुरक्षाकर्मीहरूले निरन्तर वर्षा र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती भइरहेको बताएका छन् ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले दिनुभएकाे जानकारी अनुसार शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सामा बेपत्ता हुनेमा भक्तपुर मध्यपुरथिमिका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ रहेका छन्।