• २१ असोज २०८२, मङ्गलबार

सानोमाई खोलाको पुल भत्किँदा हुलाकी सडक अवरुद्ध

blog

झापा गाउँपालिकामा हुलाकीमार्ग र पुल भत्काएर बाढी पसेपछि उद्धार गरिँदै ।

विष्णुप्रसाद पोखरेल

दमक, असोज २० गते । शनिवारदेखि आएको अविरल वर्षाका कारण झापामा सबैभन्दा बढी प्रभावित बनेको झापा गाउँपालिकास्थित सानोमाई खोलामा बनेको पक्की पुल बाढीले भत्काएको छ । 

हुलाकी सडक खण्डमा रहेको पुल भत्किएको हो । बाढीका कारण हुलाकी सडकका विभिन्न ठाउँमा क्षति गरेको छ । बाढीले पुलको संरचना क्षतिग्रस्त बनाउँदा झापा बजार, मिलनबस्ती र सुगा बथान जोड्ने मुख्य हुलाकी सडक खण्डमा यातायात अवरुद्ध बनेको बताइएको छ । 

झापा बजारबाट पश्चिमपट्टि हुलाकी राजमार्गमा पर्ने उक्त पक्की पुल बाढीको तीव्र बहावका कारण भत्किएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । 

झापा गाउँपालिकाका खोला आसपासका सबै गाउँबस्ती डुबानमा परेका छन् । आइतवार साँझसम्म नेपाली सेनाको हेलिकप्टरले समेत बाढीमा फसेकाहरुको उद्धार गरेर सुरक्षित स्थलमा ओसारेको थियो । बाढीका कारण यस पालिकाका डुबान क्षेत्रहरुको अवस्था भयावह रहेको नेपाल रेडक्रस सोसाइटी झापाका शाखाका सभापति लोकराज ढकालले बताउनुभएको छ ।