• ४ जेठ २०८१, शुक्रबार

तन्त्र साधनामा प्रसिद्ध पीठ

blog

काठमाडौँकी गुह्येश्वरी र कामरूपकी कामाख्या (कामाक्षा) उत्तिकै पौराणिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्त्वका केन्द्रबिन्दु हुन् । पशुपतिनाथ–विश्वनाथ, अयोध्या–जनकपुर, लुम्बिनी–सारनाथजस्तै गुह्येश्वरी र कामाख्याबीच शाक्त सर्किट (शाक्त परिक्रमापथ) बनाउन सके यसले दुवैतिरका पुरासम्पदाको महत्त्व विस्तारमा अभूतपूर्व योगदान पु-याउने छ । 

कामाख्या–गुह्येश्वरी

तन्त्र, मन्त्र, योग र साधनाका लागि कामाख्या माताको नाम दुनियाँभरि फैलिएको छ । गुह्येश्वरीजस्तै कामाख्याको पनि उत्पत्ति सन्दर्भ सतीदेवीसित गाँसिएको छ ।

पौराणिक आख्यानअनुसार ब्रह्माजीका मानसपुत्र दक्ष प्रजापति ज्वाइँ शङ्करलाई मन पराउँदैनथे । महायज्ञमा नबोलाइएका भगवान् शङ्करको घोर अनादरसमेत भएका कारण खप्न नसकी दक्षपुत्री सतीदेवीले यज्ञकुण्डमा फाल हाली प्राण त्यागेकी थिइन् । यस घटनाबाट विह्वल भई भगवान् शङ्कर सतीदेवीको मृत शरीर पिठ्युँमा बोकी बहुलाहाझैँ भौँतारिन थाले । यस्तो दुर्दशा देखी दुःखी भएका देवीदेवताको अनुरोधअनुसार भगवान् विष्णुले मायाद्वारा माखा रची सतीदेवीको शरीर गलाएर एक, एक अङ्ग पतन गराइदिए ।

जुन, जुन ठाउँमा सतीदेवीको अङ्क पतन भयो, ती ठाउँमा एक, एक पीठ उत्पन्न भयो र तिनै ठाउँमा चतुर्मुखी ब्रह्माले एक, एक स्वयम्भू लिङ्ग स्थापना गरेको पौराणिक आख्यान छ ।


‘श्रीस्वस्थानी कथा’का अनुसार ‘पहिले नेपाल जाँदा गुह्य पतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी, चन्द्रघण्टा योगिनी, सिद्धेश्वर महादेव उत्पन्न भए र शिव–शक्ति रूपले रहे । कामरूपमा पुग्दा छाती पतन भयो । कामरूप पीठ, कामाक्षी देवी, कर्तायोगिनी, चक्रेश्वर महादेव उत्पन्न भए र शिवशक्ति स्वरूपले रहे ।’

सम्पूर्ण पीठको सङ्ख्या साढे सात कोटी रहेको र तीमध्येका पचास पीठमा एउटाको मात्रै दर्शन गरे पनि मनले चिताएको पुग्ने, मन, वचन र कर्मद्वारा गरिएका पाप नासिने उल्लेख श्रीस्वस्थानी कथामा छ ।

पहिलेदेखि ‘कुञ्जिका पीठ’ कहलिई माताको पूजाआजा हुँदै आएको स्थानमा सतीदेवीको गुप्ताङ्ग (योनि) खसेपछि कामाख्या भन्न थालिएको उल्लेख पाइन्छ । असम (आसाम) को प्राचीन नाम कामरूप हो, यहाँको राजधानी प्राग्ज्योतिषपुर थियो । यही कामरूपको ब्रह्मपुत्र तटस्थित नीलाञ्चल पर्वत शृङ्खलामा कामाख्या माताको मन्दिर छ ।

कामदेवको कथा

कामदेवसँग सम्बन्धित पौराणिक कथा पनि रहेको छ । माताको चाहनाअनुसार कामदेवले नीलाञ्चल पर्वतमा भगवान् शङ्करमाथि कामपुष्प प्रयोग गरी उनको समाधि भङ्ग गरेका थिए । समाधि टुट्नेबित्तिकै क्रुद्ध शङ्करको दृष्टिले उनी भष्म हुनपुगे । कामदेवकी पत्नी रति र देवीदेवताको पुकारपछि शङ्करबाट जीवनदान त भयो तर पूर्व रूप रहेन । उपाय थाहा पाई कामदेवले विश्वकर्मामार्फत कामाख्या–मन्दिर निर्माण गराएपछि कामदेवको पहिलेकै रूप भयो । यही कथाको आधारमा क्षेत्रको नाम नै ‘कामरूप’ बन्नपुग्यो । 

कामरूपको कथालाई पुष्टि गर्ने उद्देश्यले हुनसक्छ, मन्दिर हाताभित्र विश्वकर्माको मूर्ति पनि राखिएको छ तर यस आख्यानको सत्यापन सहज छैन । तसर्थ कामाख्या माताको मन्दिर निर्माण कहिले भएको र कसले गरेको भन्नेबारे सत्यतथ्य अप्राप्त छ । कालान्तरमा इसाको १५२०–१५४० ताका ‘कोच वंशका संस्थापक’ विश्वसिंहलाई कामाख्या–मन्दिर पत्ता लगाएको यश प्राप्त छ । कतिपयको भनाइमा मन्दिरको गुम्बज उनले बनाएका हुन् ।

नरकासुर वध 

अज्ञातवासका बखत पाण्डवहरू नीलाञ्चल पर्वतमा आई बसेको र कामाख्याको आराधना गरेको कथन छ भने नरकासुर सम्बन्धित रोचक कथा पनि छ । यसअनुसार पिता विष्णुले छोरा नरकालाई कामरूपमा ल्याएका थिए । कामाख्या माताको रूप सौन्दर्यबाट मुग्ध नरका उनीलाई पत्नीका रूपमा पाउन चाहन्थ्यो ।

वरपर सबैलाई जिती घमण्डिएको नरकालाई काबुमा ल्याउन कामाख्या माताले एउटा प्रस्ताव राख्दै भनिन्, “बिहान नहुँदै रातभरिमा नीलाञ्चल पर्वतको चारैतिर ढुङ्गाको भ¥याङ र मन्दिरसँगै विश्राम गृह बनाउनुपर्नेछ, काम पूरा भए विवाह गर्नेछु । नत्र मारिनेछौ ।”

यो सुन्नासाथ गर्वोन्मत्त नरकासुरले काम थालिहाल्यो । भ-याङको काम सकी विश्राम स्थल समेत पूरा हुन लागेपछि अब बर्बाद हुने देखी कामाख्या माताकै इच्छामा राति नबित्दै  एउटा मायावी भाले बास्यो । अनि देवीले त्यस नरकासुरलाई ब्रह्मपुत्र नदीको पल्लो किनारमा लगी वध गरिदिइन् । सो ठाउँ ‘कुक्टाचक्री’ नामले प्रसिद्ध छ । भनिन्छ सोही बेलादेखि कामाख्या माता प्रकट रूपमा रहन छाडेकी हुन् ।

काठमाडौँको गुह्येश्वरी पीठलाई पनि सतीदेवीको गुप्ताङ्ग (योनि) पतन भएको स्थान मानिन्छ । देवीभागवत्, तन्त्रचूडामणि, बृहत् पुरश्चर्याणव, स्कन्दपुराण, वराहपुराण, नेपाल माहात्म्य आदिमा गुह्येश्वरीबारे उल्लेख छ ।

विभिन्न पुराण, इतिहास र किंवदन्तीमा कामाख्या देवीको उल्लेख छ भने कालिका पुराण, योगिनीतन्त्रमा विशद चर्चा रहेको छ ।

श्रीमद्देवीभागवतको सप्तम स्कन्ध, अष्टत्रिंशोऽध्याय, सातौँ श्लोकमा गुह्येश्वरीबारे यसरी उल्लेख भएको पाइन्छ :

‘गुह्यकाल्या महास्थानं नेपाले यत्प्रतिष्ठितम् ।’  

त्यहीँ पन्ध्रौँ श्लोकमा भनिएको छ :

‘श्रीमत्त्रिपुरभैरव्याः कामाख्यायोनिमण्डलम् ।

भूमण्डले क्षेत्ररत्नं महामायाधिवासितम् ।।

आद्याशक्ति भगवतीका दस भिन्न स्वरूप मानिन्छन् । तिनलाई दस महाविद्या भनिन्छ । कामाख्या माताको मन्दिर क्षेत्रमा काली, तारा, त्रिपुरासुन्दरी (षोडसी), भैरवी, भुवनेश्वरी (राजराजेश्वरी/अन्नपूर्णा), छिन्नमस्ता, धूमावती, बगलामुखी, मातङ्गी र कमला रहेका छन् ।



गुह्येश्वरी क्षेत्रमा पनि वज्रेश्वरी, कोटेश्वरी, झङ्केश्वरी, भुवनेश्वरी, मङ्गलेश्वरी, वत्सलेश्वरी, राजराजेश्वरी, जयवागेश्वरी छन् । गुह्येश्वरीलाई कामाक्षा उल्लेख गरिएको पनि भेटिन्छ ।

सतीदेवीको योनि पतन भएको मानिने कामाख्या पीठ होस् वा गुह्येश्वरी दुवै स्थानमा मूर्ति छैन, अविरल रहने जल नै देवीको स्वरूप हो । कामाख्या मन्दिरमा अँध्यारो गुफाभित्र तलपट्टि योनि महामुद्रामा रहेको जलस्पर्श गरी अञ्जुलिमा लिई पान गर्ने तथा शरीरमा छर्कने गरिन्छ । गुह्येश्वरीमा पनि त्यसैगरी आद्याशक्तिका रूपमा कलश अर्थात् जलकै महìव छ । गुह्येश्वरीमा दक्षिणतर्फ भैरव रहेजस्तै कामाख्या माताको मन्दिरमा पनि भैरवको विशेष स्थान छ ।

नाथ सम्प्रदायका संस्थापक, महायोगी, तन्त्रमन्त्रका ज्ञाता मत्स्येन्द्रनाथलाई कामाख्याबाट काठमाडौँ ल्याइएको उल्लेख पाइन्छ । 

महाभैरव उमानन्द

ब्रह्मपुत्र नदीको बीच भागमा महाभैरव उमानन्दको मन्दिर छ  । माता उमा अर्थात् कामाख्या मातालाई आनन्द दिने भएकाले यिनको नाम उमानन्द रहेको हो । यहाँ दर्शन गरेर कामाख्या दर्शन गर्नुपर्ने भनाइ पनि छ । फेरि (जहाज)बाट जाँदा केही मिनेटमै टापुमा रहेको उमानन्द मन्दिर पुग्न सकिन्छ तर वर्षाका बेला ब्रह्मपुत्रमा बाढी आउँदा यात्रा सम्भव हुँदैन । केबलकारबाट ब्रह्मपुत्र नदीको वारपार हुँदै माथिबाट मात्रै उमानन्द भैरवको दर्शन गर्न सकिन्छ ।

कामाख्या र गुह्येश्वरी दुवै मन्दिर तन्त्र, मन्त्र र साधनासित सम्बन्धित छन् । गुह्येश्वरी मन्दिरमा पनि निकै पहिलेदेखि पूजाआजा हुँदै आएको हो । कामाख्या मन्दिरमा जस्तै यहाँको पनि सत्यतथ्य अज्ञात छ । तैपनि गुह्येश्वरी मन्दिर निर्माणको सिलसिलामा राजा प्रताप मल्ल अग्रणी देखापर्छन् । काठमाडौँमा यही स्वरूप र महìवको पुरानो गुह्येश्वरी रहेको पनि यतिखेर स्मरणीय बनेको छ । 

तन्त्रसाधना गर्नेहरू कामाख्या तथा गुह्येश्वरी दुवै मन्दिरमा पुग्ने भए तापनि गुह्येश्वरीबारे विश्वव्यापी प्रचारप्रसारको निकै कमी छ भने जगप्रसिद्धिका कारण कामाख्या मन्दिरमा सधैँजसो घुइँचो लाग्ने गर्छ । कामाख्या मन्दिरमा भारतका विभिन्न भागसहित नेपाल, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्डबाट मात्रै होइन अफ्रिकाबाट समेत श्रद्धालुजन, तान्त्रिक तथा अघोरीहरू पुग्ने गर्छन् ।


कामाख्याको रजस्वला : अम्बुबाची (अमुबासी) पर्व 

अम्बुबाचीलाई कुम्भ पर्वसँग तुलना गरिन्छ । प्रयाग, हरिद्वार, नासिक आदि स्थानमा कुम्भ पर्व लाग्दाझैँ अम्बुबाची पर्वमा अपार भीड हुन्छ । यस अम्बुबाची पर्वलाई भगवती कामाख्याको रजस्वला पर्व मानिन्छ । स्थानीय जानकारका अनुसार आषाढ मासको आद्र्रादेखि स्वाती नक्षत्रको बीचमा कामाख्या माताको रजस्वला हुन्छ । 

अम्बु (अमु)को अर्थ जल र बाची (बासी)को अर्थ बग्ने हुन्छ । जल पृथ्वी वा प्रकृतिको रज हो । जलबाट नै अन्नादि उब्जन्छन् । माताको योनीमा भएको जल ब्रह्मपुत्र भई विश्वभरि फैलिई सबैको भरणपोषण गर्ने भएकाले यसको ठूलो महìव रहेको जनविश्वास छ ।

भूमिरज (रजस्वला)का बखत गर्भगृहको कपाट बन्द हुन्छ । तीन दिनसम्म खोलिँदैन । चौथो दिन दर्शन खुला हुन्छ । माताको दर्शनका लागि भक्तजन तीन दिनसम्म लाम लागेका हुन्छन् । खासगरी माता रजस्वला भएका बखत यहाँ तान्त्रिक, मान्त्रिक, आराधकहरू सिद्धि वा साधनाका निम्ति आउने गर्दछन् ।

माता कामाख्या रजस्वला भएका बखत ब्रह्मपुत्रमा राताम्मे जल बग्ने रहस्यमयी चर्चा व्यापक हुने गरे पनि त्यसमा वस्तुतः सत्यता नरहेको, बरु चढाइएका सिन्दूर, अबीर आदिका कारण कतै जल रातो देखिएको हुनसक्ने अनुमान गरिन्छ । माता रजस्वला भएका बखत गर्भगृहमा बिछाइएको भिजेका वस्त्र (अम्बुबाची वस्त्र)लाई अत्यन्त शुभ मानी वितरण गरिन्छ ।

पौष द्वितीया/तृतीया तिथिमा पुष्य नक्षत्र भेट्दा कामाख्या माताको भव्य विवाह उत्सव मनाउने चलन छ । यसलाई ‘पोहन विवाह’ भनिन्छ ।

सौभाग्यकुण्ड

जलरूपी माता हुन्– कामाख्या । कामाख्या मन्दिरकै हाताभित्र रहेको सौभाग्य कुण्डमा स्नान वा मार्जन गरी देवीको दर्शन गर्ने प्रचलन छ । इन्द्रले वज्रद्वारा बनाएको यस कुण्डमा स्नान गर्नाले सौभाग्य प्राप्त हुने जनविश्वास छ । स्थानीयका अनुसार समस्त तीर्थ र ३३ कोटी देवताको  निवास यस  कुण्डमा रहेको छ ।

दशमहाविद्या

मन्दिरको मुख्यस्थल गर्भगृहमा कामाख्या माता (जलरूपी) सँगै मातङ्गी तथा कमला छन् भने दस महाविद्यामध्ये अन्य तारा, काली, छिन्नमस्ता, धूमावती र भैरवीका मन्दिर पनि थोरै दूरीमा रहेका छन् ।  भुवनेश्वरी र बगलामुखीको मन्दिर अलि पर छ । कामाख्या माताको दर्शन गर्न जानेहरू दस महाविद्याको दर्शन गर्न बिरलै चुकेका हुन्छन् ।

मोहनको आकर्षण

भैरवी मन्दिर नजिकै तलाउमा कछुवाको बेग्लै आकर्षण छ । ‘मोहन’ भनी बोलाउँदा छेवैमा आउने कछुवालाई खानेकुरा दिई जोकोही प्रसन्नता अनुभव गर्न सक्छन् ।

अन्य विशेष पर्वमा त यहाँको रौनक रहन्छ नै तर अम्बुबाचीपछि अर्को उल्लेख्य पर्व ‘पोहन विवाह’ हो । पौष द्वितीया÷तृतीया तिथिमा पुष्य नक्षत्र भेट्दा कामाख्या माताको भव्य विवाह उत्सव मनाउने चलन छ । यसलाई ‘पोहन विवाह’ भनिन्छ ।

नेपाली पण्डा

यहाँ पूजाआजा, कर्मकाण्ड गर्ने पण्डित ‘पण्डा’ कहलाउँछन् । अन्य तीर्थका तुलनामा यहाँको विशेषता के छ भने भक्तजनले पण्डाको सहयोग लिनु अनिवार्य छैन । ‘लालमोहरिया’ नेपाली पण्डा पनि छन् । मृणाल सन्दरादेव शर्मा ‘पण्डा’ (मृणाल पण्डा)का अनुसार कामाख्या मन्दिरमा झन्डै पाँच सय पण्डा छन् । तिनमा लालमोहरिया पण्डा पनि परम्परागत रूपमै रहेका छन् ।

“हामीहरू अधिकारी हो, कश्यप गोत्र । कतिपयले हामीलाई गोर्खाली भन्छन्, खास जानकारी छैन । मेरो भाइ कल्याण शर्मा पनि पण्डा हो । जेठो बुवाको छोरो अमल र माहिला बुवाको छोरा पूर्णचन्द्र र सुभाष अनि कान्छा बा (भुवनचन्द) र उहाँका छोरा कुमुद तथा दीपेन पनि मन्दिरमै पण्डा छन् । हाम्रो चार पुस्ता भइसक्यो । जङ्गबहादुर राणाको पालामा लालमोहर पाएको । बाजेको पालाका केही कागजात पनि छन् ।” बताउने मृणालका घरमै गई हेर्दा दुईवटा फलामे ढुङ्ग्राभित्र केही ऐतिहासिक कागज फेला परे ।

केही च्यातिएका र कतिपय शब्द अस्पष्ट रहेका ती कागजमा एउटा वि.सं. १९५२ माघ सुदि ६ रोज २ को छ । यसमा ‘चन्द्रनाथ पण्डाका बासमा आई कामाख्या माई दर्शन गर्नु, अरूसँग नजानु, महाराज जङ्गबहादुरले गरेको राखेको पण्डा छाडी ...(अन्यत्र नजानु), नेपाली जातिलाई सबाई भई आउने छ । नेपाली जातिले लोकनाथका भाइ छोरा पण्डा मानी कामाख्या माईको दर्शन गर्ने काम गर !” भन्ने उल्लेख पाइन्छ ।

“मन्दिर कमिटीबाट केही पाइँदैन । हाम्रा बाजेका पालामा त अरूले दिएको भेटी समेत मन्दिरमा दिनुपथ्र्याे । यो व्यवस्था बावुको पालादेखि हट्यो । अरू त के कुरा, कामाख्या माताकै जग्गा समेत अहिले छैन । पहिले मन्दिरका नाममा तीन हजार बिघा रहेकामा हाल आठ बिघामै सीमित छ । त्यही भएर मन्दिर कमिटीले सरकारका नाममा मुद्दा हालेको छ ।” यो जानकारी पनि मृणाल पण्डाबाट प्राप्त भएको छ ।

कामाख्याबाट मत्स्येन्द्रनाथ

सहकाल र वर्षाका देवता मानिने मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ÷ मीनपा÷मीननाथ÷आर्यावलोकितेश्वर)को सम्बन्ध पनि कामाख्यासँग जोडिएको छ । मत्स्येन्द्रनाथ हिन्दु तथा बौद्धधर्मावलम्बी दुवैका निम्ति पूज्य छन् । ८४ महासिद्धमध्ये एक, उनी गोरखनाथका गुरु हुन् । नाथ सम्प्रदायका संस्थापक, महायोगी, तन्त्रमन्त्रका ज्ञाता मत्स्येन्द्रनाथलाई कामाख्याबाट काठमाडौँ ल्याइएको उल्लेख पाइन्छ ।

लामो समयसम्म पानी नपरी खडेरी लागी अनिकाल पर्दा भकाभक मर्न थालेका जनतालाई जोगाउन काठमाडौँ, ललितपुर र भक्तपुरका तान्त्रिकले कामरूप कामाख्याबाट मत्स्येन्द्रनाथलाई ल्याएको कथा विभिन्न इतिहास, वंशावली तथा जनश्रुतिमा रहेका छन् ।

लिच्छविकालका भक्तपुरे राजा नरेन्द्रदेवका पालामा मस्त्येन्द्रनाथलाई यहाँ ल्याइएको एकथरी भनाइ छ भने पशुपतिनाथको अभिलेखका आधारमा जयदेव द्वितीयले ल्याएको हुन सक्ने अड्कल पनि छ । गुरु गोरखनाथले नै उनलाई नेपालमा ल्याएको उल्लेख समेत पाइन्छ ।

सङ्कटाको शक्ति

एकथरी भनाइअनुसार राजा नरेन्द्रदेवको शासनकालमा काठमाडौँका तान्त्रिक बन्धुदत्त तथा पाटनका किसान ललित मत्स्येन्द्रनाथलाई लिन कामाख्या गए । मत्स्येन्द्रनाथलाई सशरीर ल्याउन सम्भव नभएपछि उनको प्राण भमराका रूपमा कलशमा राखी ल्याइयो । त्यो देखी मत्स्येन्द्रनाथकी माता पनि आफन्तसहित पछि लाग्दै आइन् ।


कटुवाल दहमा आइपुग्दा कलह परी कलश हत्याउने प्रयास भएछ । खोसाखोसले कलश पानीमा झरेको मात्र के थियो, दहभित्रबाट कलशसहितको दिव्य हात देखाप¥यो । यो हात सङ्कटाको रहेछ । उनले कलश दिन नमानेपछि तान्त्रिक बन्धुदत्तले शक्ति जगाई चार भैरव पुकारेछन्, अनि भीषण स्थिति सिर्जना भयो । यहीबीच भमराका रूपमा रहेका मत्स्येन्द्रनाथको प्राणलाई माली जातिको युवतीका पेटमा राखी छोपिएछ । मत्स्येन्द्रनाथकी माता र परिवारजनलाई उनको प्राण रहेको कलश पानीमा बगेको जनाई फिर्ता पठाइयो ।

सङ्कटाले आफूलाई पनि सँगै लैजान भन्दा मानिएन । शक्तिको अंश मात्रै भए पनि लगी मूर्ति बनाई राख्नू भन्ने आग्रह चाहिँ मानियो तर त्यसो गर्न तान्त्रिक बन्धुदत्त असमर्थ भए ।  सङ्कटाबेगर योगिनी शक्ति लैजान सकिँदो रहेन छ । त्यसपछि दुईवटा कलशमा ल्याई मत्स्येन्द्रनाथ र सङ्कटा स्थापना गराइयो ।


गोरखनाथको जुक्ति

अर्को कथाअनुसार गोरखनाथका कारण मत्स्येन्द्रनाथ नेपाल आएका हुन् । गोरखनाथ आफ्ना गुरुलाई यहीँ दर्शन गर्न चाहन्थे । यसका निम्ति उनले जुक्ति निकाले । कर्कोटक आदि नौवटा नाग समाती एउटा गुफामा राखेर उनी तपस्या गर्न बसेछन् । नाग थुनिएकाले नेपालमा १२ वर्षसम्म पानी परेन र खडेरी लागी हाहाकार मच्चिन थाल्यो । जनताको दुःख मेट्न मत्स्येन्द्रनाथ नेपाल आए, वर्षा भयो र यसरी जनताको पीर मेटियो भने गोरखनाथको मनसुबा पनि पूरा भयो । 


स्वस्तिश्रीगिरिराजचक्रचूडामणि

नरनारायणेत्यादिविविधवीरुदावलीविराजमानो...श्रीमन्महाराजाधिराज श्रीश्रीश्रीमहाराजपृथ्विवीरविक्रम जङ्गवहादुरसम्सेर जङ्ग देवानां सदा समर विजयीनाम् –

आगे लोकनाथ पण्डाके कामाख्याको दर्शन गर्न जाने गोर्षाली दुनीञालाई तिम्राद्वारावाट दर्सन् गराउनु, जो दियाको दान दक्षीणा लीनु भेटी दक्षीणा चढाउन नसक्ने रैतिलाई नअडकाउनु, दर्सन् गराउनु भंन्या मेरा वावु मुकुलाल पंडाका नाउमा पंडाको लालमोहर गरिबक्सियको आगलागी घर दाहा हुदा सो लालमोहर गरि पाउँ भनि तिमिले ..... श्रीमद्राजकुमारकुमारात्मज श्रीकम्यांडर इनचीफ जनरलदेवसम्सेर जङ्गराणा वहादुरका हजुरमा विन्ति चढायाका वीस्तार नीज ... श्री महाराज कुमार कुमारात्मज श्रीकम्यांडरइनचीफ जनरलदेवसम्सेर जङ्गराणावाट हाम्रा हजुरमा विन्ति जाहेर भयो ..सो ...को नेपाली गोर्षाराजभर मुलुकका छोट्टा वडा भैभारादार दुनीञाहरूले दर्सन् गर्न जादा तिमिलाई पंडा मांनु. तिमिले पनि सो जान्नु जजमानहरूलाई वड वीचार गरी ...दर्सन् गराउनु सो जान्नु जजमानहरूले आफ्ना श्रद्धा अनुसार खुसि राजिले जो दियाको दक्षीणा भेटी लिनु. कर लगाई नलीनु भंन्या प्रोहीत्याईको लालमोहर गरिबक्स्यौं. आफ्ना षातीर जन गरी हाम्रो जय मनाई भोग्य गर. इति सम्वत् १९५३ साल मिती फागुन वदी ९ रोज शुक्र (?) शुभम् –