• ११ असोज २०८२, शनिबार

पुनर्वास नगरपालिका जल्दा साढे पाँच करोडको क्षति

blog

आगजनीपछि पुनर्वास नगरपालिका भवन । तस्बिर सौजन्यः ओम ढकाल

भुवानीदत्त भट्ट

कञ्चनपुर, असोज ११ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घुसपैठका कारण यहाँको पुनर्वास नगरपालिकाले साढे पाँच करोड बढीको क्षति बेहोर्नुपरेको छ । 

आन्दोलनमा भएको घुसपैठका कारण नगरपालिकाका दुई वटै भवन जलेर नष्ट भएको छ । जसबाट पाँच करोड ५४ लाख ८९ हजार २५१ रुपियाँ बराबरको क्षति पुगेको पालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

विसं २०७५ असारमा रोयल निर्माण कम्पनी धनगढीले झन्डै ६ करोड ६८ लाख लागतमा पुनर्वास नगरपालिकाको पहिलो प्रशासकीय भवन निर्माण गरेको थियो । यसैगरी, एक करोड ६३ लाखमा विस. २०८० असार मसान्तमा आशिस रश्मि जेभी निर्माण सेवा धनगढीले पालिकाको दोस्रो भवन निर्माण गरेको थियो ।  

झन्डै आठ करोड लागतमा निर्माण गरिएका पुनर्वास नगरपालिकाका यी भवनहरू गत भदौ २४ गते आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेपछि पुर्णरुपमा जलेर नष्ट भएको छ । 

आगजनीबाट नगरपालिकामा एक करोड १९ लाख ६५ हजार १८० मूल्य बराबरका सवारी साधन नष्ट भएका छन् । केही मोटरसाइकल, कार र अन्य सवारी साधनमा १६ लाख बराबरको आंशिक क्षति पुगेको सो कार्यालयले जनाएको छ ।

तोडफोड र आगजनीबाट फर्निचर, मेसेनरी औजार लगायत खप्ने सामग्रीमा दुई करोड ४८ लाख ५३ हजार बराबरको क्षति पुगेको विवरण सङ्कलन संयोजक नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताउनुभयो ।

यसैगरी आगजनीबाट नगद रकम समेत जलेर नष्ट भएको बताइएको छ । पालिकाको राजस्व शाखा, उद्गम र कृषि विकास शाखाबाट बैङ्क दाखिला गर्न बाँकी एक लाख ५२ हजार १४० रुपियाँ समेत जलेर नष्ट भएको नगरपालिकाले सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ ।

आगजनी र तोडफोडबाट पालिकाका दुईवटै भवनमा एक करोड ३० लाख बराबरको क्षति पुगेको नगरपालिकाका शिक्षा शाखा प्रमुख भट्टले बताउनुभयो । उहाँका अनुसार, संरचना निर्माणमा मात्र एक करोड ३० लाख खर्च लाग्ने देखिएको छ । 

यसैगरी, उपकरण, सवारी साधन तथा अन्य कार्यालयको अत्यावश्यक सामग्री खरिदमा मात्र चार करोड २४ लाखबढी खर्च लाग्ने नगरपालिकाले जनाएको छ । जेनजी आन्दोलनको क्रममा भएको घुसपैठका कारण नगरपालिकाले जिल्लामै अत्यधिक क्षति बेहोर्नु परेको छ । 

आगजनीपछि केही साता सेवा प्रवाह बन्द रहे पनि अहिले अत्यावश्यक सेवाहरू भने सञ्चालनमा छन् । दाताहरूले कम्प्युटर, टेबुल, कुर्सीलगायत उपकरण तथा सामग्रीहरू पालिकालाई सहयोग गरेपछि पालिका सञ्चालनमा आएको छ । नगरप्रमुख तोयप्रसाद शर्माले दाताहरूले उपकरण लगायत सामग्रीहरु सहयोग गरेपछि नगरपालिका सञ्चालनमा आएको बताउनुभयो । 

“संघ संस्थाहरूले उपकरण सहयोग गरेपछि अहिले इन्टरनेट जडानको काम गरेर अत्यावश्यक सेवा सुचारु गरेका छौँ’ नगरप्रमुख शर्माले भन्नुभयो, ‘भवन पुनः निर्माणको विषयमा अहिले केही भन्न सकिने अवस्था छैन ।”