• ११ असोज २०८२, शनिबार

विद्युतीय गाडी दुर्घटना, दश जना घाइते

blog

बैतडीको सूर्नया गाउँपालिका –७ भञ्ज्याङमा दुर्घटनामा परेका विद्युतीय गाडी । तस्बिरः बैतडी प्रहरी कार्यालय

गोकर्ण दयाल 

बैतडी, असोज ११ गते । दशैंका लागि घर फर्किरहेका यात्रु सवार रहेको विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दश जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । 

शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट बैतडीको पुर्चौडी जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० विद्युती गाडी जिल्लाको सुर्नया गाउँपालिका –७ भञ्ज्याङमा दुर्घटनामा परेको हो ।    

धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो ३ बजेतिर जयपृथ्वी राजमार्गअन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको हो । गाडीमा चालकसहित १८ जना सवार थिए । इभी सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दलदेव बडूले बताउनुभयो । 

दुर्घटनामा परी घाइते हुनेमा पुर्चौंडी नगरपालिका –५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, पाँच वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । 

त्यसैगरी पुर्चौंडी नगरपालिका –४ का १९ वर्षीया कमला धानुक, सोही ठाउँका २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी –३ की २२ वर्षीया सावित्री धामी घाइते भएका छन् । 

सवारीचालक पुर्चौडी नगरपालिका –५, का महेश बोहरा फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । स्थानीय ढोल्यामोड प्रहरी चौकीका इन्चार्ज गणेश रावलको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । 

फरार रहेका चालकको खोजी र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।