इस्लामावाद, असोज ११ गते । पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाख भन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै दक्षिणी जिल्लामा धेरै असर पारेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए) ले जनाएको छ ।
सेप्टेम्बर ८ देखि १८ सम्म प्रदेश सरकारसँगको संयुक्त सहकार्यमा गरिएको सर्वेक्षणमा बाढी प्रभावित १८ जिल्लाका करिब २ हजार गाउँलाई समेटिएको जनाइएको छ । यस सर्वेक्षणले लगभग २८ लाख मानिस विस्थापित बनाएको लगभग एक लाख ६१ हजार ७०० घर क्षतिग्रस्त भएको तथा स्वास्थ्य र शिक्षाका पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ देखि सेप्टेम्बर १९ का बीचमा देशभर करिब ३० लाख मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । बाढीका कारण १२ हजार ५५९ घर क्षतिग्रस्त हुनुका साथै छ हजार ५०९ वस्तुको ज्यान गएको जनाइएको छ । यसअघि प्रधानमन्त्री शाहबाज सरिफले बाढीमा ज्यान गुमाउनेको परिवारका लागि अनुदान रकम दोब्बर गर्ने घोषणा गर्दै १० लाख बाट बढाएर २० लाख रुपियाँ पुर्याउनु भएको थियो । रासस/सिन्ह्वा