चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार अभियानलाई निरन्तरता दिँदै आएको छ । खस्किँदो शैक्षिक अवस्थालाई सुधार गर्ने योजनासहित सुरु भएको अभियानलाई गाउँपालिकाले निरन्तरता दिइरहेको हो ।
शैक्षिक गुणस्तर सुधारको निरन्तर अभियानअन्तर्गत मैवाखोला गाउँपालिकाले काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग पनि सहकार्य गर्ने भएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाको शैक्षिक गुणस्तर सुधार गर्नमा सहकार्य गर्नेगरी गाउँपालिका र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबिच शुक्रबार सम्झौता भएको छ ।
पालिकाको शैक्षिक गुणस्तर सुधार योजनालाई सघाउ पुर्याउनेगरी सामुदायिक विद्यालयका प्रधानाध्यापकको क्षमता विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ । यस्तै सम्झौताका क्षेत्रअन्तर्गत नै गाउँ शिक्षा समिति, वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीको क्षमता विकास गर्ने विषय उल्लेख गरिएको छ ।
यसैगरी पाठ्यक्रममा आधारित विषय शिक्षकको पेशागत क्षमता विकास गर्ने, पालिकाभित्र रहेका शैक्षिक अवसरहरुको अनुसन्धान गर्ने, जेहेन्दार विद्यार्थीका लागि शैक्षिक अवसर सिर्जना गर्नेजस्ता विषयमा सम्झौता भएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर सुधारमा सहकार्य गर्नेगरी भएको समझदारी पत्रमा गाउँपालिका अध्यक्ष वनेम र काठमाडौं विश्वविद्यालयका डीन प्रोफेसर डा. बालचन्द्र लुइँटेलले हस्ताक्षर गर्नुभएको छ ।
यता शैक्षिक गुणस्तर सुधार गर्न मैवाखोला गाउँपालिका र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबिच सहकार्य गर्नेगरी भएको सम्झौतालाई प्रभावकारी कार्यान्वयन गरिने गाउँपालिका अध्यष वनेमको भनाइ छ । गाउँपालिकाले पालिकाभित्रको शैक्षिक गुणस्तर सुधार्नका लागि यसअघिदेखि नै बृहत शैक्षिक सम्मेलन लगायतका क्रियाकलापहरु गर्दै आएको छ ।