• ११ असोज २०८२, शनिबार

दस सेकेन्ड मात्र ढिला भएको भए...

blog

तुइनखोलामा आएको पहिरो पन्छाइँदै ।

शालिग्राम नेपाल 

चितवन, असोज ११ गते  । मुग्लिङनजिकै तुइनखोलामा झरेको पहिरो सम्झँदै  शम्भु बैठाले भन्नुभयो, “दस सेकेन्ड मात्र ढिला भएको भए मेरो ज्यान कहाँ पुरिन्थ्यो कसैलाई थाहा हुन्थेन होला । मेरो जीवन यही पहिरोमा मिल्थ्यो ।” लोडरचालक बैठाले भन्नुभयो, “असोज ३ गते शुक्रबार आएको पहिरो पन्छाएर ४६ घण्टापछि गाडी चल्न थालेको थियो । फेरि सानो पहिरो आयो त्यो पन्छाउँदै गएको थिएँ । एउटा ठुलो ढुङ्गा पन्छाउन लाग्दा एक्कासि प्रहरीले सिठ्ठी बजाएर भने भाग भाग । त्यतिबेला त माथिबाट अर्काे पहिरो झरिसकेको रहेछ ।” 

प्रहरीले सूचना दिएपछि लोडर पछाडि ब्याक गरेर भाग्नासाथ ठुलो पहिरो खसेर बाटो अवरुद्ध भयो । ५६ वर्षीय बैठाले मुग्लिङ–नारायणगढ सडकखण्डदेखि नागढुङ्गासम्म पहिरो पन्छाउन थालेको १६ वर्षभन्दा बढी समय भएको छ । गत मङ्गलबार आएको जस्तो ठुलो पहिरो उहाँले कहिल्यै नदेखेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “मलाइ त्यो घटना सम्झँदा अहिले पनि हातगोडा कापेर आउँछ । भगवान्ले हात थापेकाले म अहिले बाँचेको छु ।” 

यही असोज ३ गते आएको पहिरो दिउँसो पन्छाएर केही दिन आनन्द भए पनि ७ गते मङ्गलबार आएको पहिरोले भने ठुलो समस्या पारेको उहाँले बताउनुभयो । रौतहटको दुर्गाभगवती गाउँपालिका–२ घर भएका बैठाले २०४८ सालदेखि डिभिजन सडक कार्यालयमा लोडर चलाउँदै आउनुभएको छ । अर्का एक्साभेटरचालक कमलेश चौधरीले भन्नुभयो “रातदिन थकाइ, भोक, तिर्खा केही नभनी काम गर्नु पर्छ । तल्लो भागमा सडकमा भरिएको पहिरो पन्छाउँदै जाँदा कति खेर माथिबाट पहिरोले मार्छ भन्ने चिन्ता लागिरहन्छ ।” चौधरीले भन्नुभयो, “यस क्षेत्रमा मात्रै पहिरो पन्छाउन लागेको आठ वर्ष भयो तर यति धेरै जोखिम पहिलो पटक अनुभव गरँे ।” माथिबाट ढुङ्गा झर्दाझर्दै काम गर्नु पर्दा जीवन जोखिम रहने गरेको उहाँले बताउनुभयो । मङ्गलबार आएको पहिरो पन्छाउन ५६ घण्टा भन्दा धेरै समय लागेको उहाँले जानकारी दिनुभयो । 

डिभिजन सडक कार्यालय भरतपुरले नारायणगढ–मुग्लिङ सडक क्षेत्रमा र धादिङको केही क्षेत्रमा समेत काम गर्ने गरी सेती दोभानमा क्याम्प खडा गरेर राखेको छ । लोडर, एक्साभेटरचालकसहित नौ जना जनशक्ति तयारी अवस्थामा राखेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले भन्नुभयो, “पहिरोका कारण बाटो अवरुद्ध हुने भएकाले यस स्थानमा काम गर्नका लागि हामीले साधन र जनशक्ति तयारी अवस्थामा राखेका छौँ । पहिरो खस्नेबित्तिकै जनशक्ति परिचालन भइहाल्छ ।”

तुइनखोलको पहिरो पन्छाउन सवारीचालकबाहेक सडक डिभिजन कार्यालयका प्रमुख, इन्जिनियर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रमुख, इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुखलगायत सरकारी, गैरसरकारी र निजी क्षेत्रका व्यक्ति खटिएका थिए ।