भजनी (कैलाली), असोज ६ गते । दुई महिनाअघिसम्म टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीलाई निकै सकसपूर्ण समय थियो । दिनभर घरायसी काममा व्यस्त हुँदा पनि उहाँको कामबाट परिवार सन्तुष्ट थिएन ।
घरमा जति काम गरे पनि आम्दानी नहुने भएपछि उहाँ मानसिक तनावमा हुनुहुन्थ्यो तर २५ दिने तालिमले उहाँको जीवन फेरिएको छ । उहाँ उद्यममा जोडिनुभएको छ ।
२५ दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिएका हुन् । उहाँहरूले केराको रेसाबाट काँचो कपडा बुन्न थाल्नुभएको छ ।
अहिले उहाँहरूको दैनिकी कपडा बनाउँदै बित्ने गरेको छ । “खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफँै कपडा बनाउन थालेकी छु । हिजोआज परिवारले पनि विश्वास गर्न थालेको छ । आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ,” उहाँले भन्नुभयो ।
टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिला आत्मनिर्भर बन्दै गएका छन् ।
“सिप भएपछि पैसा कमाउन समस्या नहुँदो रहेछ । समाजले हेर्ने दृष्टिकोणमा फेरिँदो रहेछ ।” सोही ठाउँकी कमला साउदले भन्नुभयो, “हिजो घरमा बसेर दिन बिताउन मुस्किल हुन्थ्यो भने हिजोआज समय नै पुग्दैन ।”
महिलाले उत्पादन गरेको कपडा काठमाडौँ लगिन्छ । प्रतिमिटर तीन सय रुपियाँमा काठमाडौँको अल्लो बजारले कपडा खरिद गर्दै आएको छ । माग अनुसार पु-याउन भने नसकिएको वडा नं. ७ की शकुन्तला चौधरी बताउनुहुन्छ ।
उत्पादन भएको कपडा निर्यातका लागि सहकारीले सहजीकरण गर्दै आएको छ । दुई वर्षअघिदेखि केराको खेर गइरहेको थामबाट रेसा उत्पादन गर्दै आएको सहकारीले यसभन्दा पहिले रेसा तयार गरेर बेच्दै आएको थियो । बजारमा रेसाको माग निकै हुँदा पु-याउन नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताउनुभयो । “रेसाका लागि चाहिने कच्चा पदार्थ अर्थात् केराको थाममा हामीले अहिलेसम्म पैसा तिर्नु परेको छैन । उत्पादन भएको रेसाले बजारको माग धान्न सकेका छैनौँ । अहिले त आफ्नै लागि रेसा पु-याउन सकिएको छैन ।”
महिलाले सरकारबाट सहयोगको अपेक्षा गरेका छन् । उत्पादन भएको कपडाबाट अन्य सामग्री उत्पादनका लागि आवश्यक सिप र आधुनिक मेसिनमा सहयोगको अपेक्षा महिलाको छ । स्थानीय कमलाकुमारी चौधरीले केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीलगायत उत्पादन गर्न सकिने बताउनुभयो ।
स्थानीय महिलालाई सिलाइकटाइलगायतका तालिममा लाखौँ खर्च स्थानीय सरकारले बर्सेनि गर्दै आए पनि आफ्नो क्षेत्रमा खेर गइरहेको कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर बनाउने काममा लगानी आवश्यक रहेको चौधरी बताउनुहुन्छ ।
टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । केरा उत्पादन भएपछि खेर गइरहेको केराको थामबाट रेसा उत्पादन गरेर कपडा उत्पादन भइरहेको छ ।