• १९ असोज २०८१, शनिबार

पुलिस र एपीएफको सुखद सुरुवात

blog

महिला भलिबलमा प्रतिस्पर्धा गर्दै एपीएफ र परोपकारका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १४ गते । विभागीय टोलीको नेपाल पुलिस क्लब र एपीएफ क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित कभर्डहलमा मंगलबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

पुलिसले २५–१६, २५–१५, २५–१५ को सहज नतिजा निकालेको थियो । अर्को खेलमा एपीएफ क्लबले परोपकार आदर्श माध्यमिक विद्यालयलाई ३–० कै सेटमा स्तब्ध बनायो । एपीएफले २५–११, २५–४, २५–३ को जित निकालेको थियो । जितसँगै दुवै टोलीले तीन तीन अंक बटुलेका छन् । 

पाँच दिनसम्म चल्ने प्रतियोगितामा चार टोलीको सहभागिता रहेको छ । राउन्ड रोविन लिगमा आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रायोजनमा सञ्चान हुने प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपियाँ र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

यस्तै तेस्रो हुनेलाई एक लाख २५ हजार र चौथो हुने टोलीलाई ७५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।