धादिङबेँसी समाचारदाता
धादिङबेँसी, असोज ६ गते । चाडपर्वलक्षित नागढुङ्गा–मुग्लिङ सडक आयोजना अन्तर्गत पूर्वीखण्डको सडक मर्मत सुरु गरिएको छ । चाडपर्वका समयमा सवारी चाप बढ्ने भएकाले खाल्टाखुल्टी पुर्ने, गिट्टी हाल्ने र सडक सम्याउने काम गरिएको हो ।
नागढुङ्गा–मुग्लिङ सडकको पूर्वीखण्डका योजना प्रमुख केशव ओझाका अनुसार चाडपर्वअघि कालोपत्रे नगरी खाल्टाखुल्टी पुर्ने र सतह सम्याउने कार्यलाई निरन्तरता दिइँदै छ । उहाँले भन्नुभयो, “दसैँतिहारमा सवारी आवागमन बढ्ने भएकाले यात्रुको सहजताका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्मतकेन्द्रित भएका छौँ ।”
ओझाका अनुसार मलेखु–गल्छी खण्डमा मर्मतसम्भार सकिएको छ भने गल्छी–नौबिसे खण्डमा लगातार वर्षाका कारण काम प्रभावित भएको छ । मौसम अनुकूल भए सोमबारदेखि निरन्तर मर्मत कार्य अघि बढाइने उहाँले जानकारी दिनुभयो । ठुला खाल्डा भएका स्थानमा ग्राभेल भर्ने र सडक सतहलाई ग्रेडर प्रयोग गरी सम्याउने कार्य गरिएको हो ।
विगतको अनुभव अनुसार पानी पर्दा पहिरो जाने खतरापूर्ण स्थानमा तत्काल जोखिम कम भएको सडक योजना प्रमुख ओझाले जानकारी दिनुभयो । धेरै जोखिम परेवाभिरमा हुने गरेको भए पनि अहिले त्यस्तो अवस्था देखिएको छैन । पानी धेरै नपरेसम्म अन्य स्थानमा पनि पहिरोको खतरा न्यून रहने उहाँको भनाइ छ ।
ओझाले कालोपत्रे गर्ने काम भने चाडपर्व सकिएपछि मात्र सुरु गरिने बताउनुभयो । पछिल्लो सातादेखि सडकमा सवारी चाप बढेकाले दसैँताका यात्रुलाई असुविधा नहोस् भन्ने उद्देश्यले निर्माण स्थगित गरिएको उहाँले स्पष्ट पार्नुभयो । पोखरेखोला क्षेत्रमा भने लगातार मर्मत भइरहेको छ ।
“पहिले भत्किएको ठुलो खण्डमा अहिले कालोपत्र गर्न नसकिएको र खाल्टाखुल्टी पुरेर पनि सम्भव नभएकाले ग्राभेल सतहलाई ग्रेडर प्रयोग गरी रोलिङ गरेर सहज बनाइएको छ,” ओझाले भन्नुभयो । उहाँका अनुसार पाँच पटकसम्म मर्मत गरे पनि सवारी चापका कारण दीर्घकालीन समाधान हुन सकेको छैन ।
“चाडपर्वसम्म पानी परेन भने फेरि सहज बनाउने काम गर्छौं तर पानी परे खाल्टाखुल्टी र पानी जम्ने समस्या आउँछ । अहिले पनि सहज होस् भनेर निरन्तर प्रयास गरिरहेका छौँ,” योजना प्रमुख ओझाले बताउनुभयो । “दसैँ नजिकिँदै गर्दा सडक विस्तार र कालोपत्रे सुरु गर्दा यात्रुलाई असुविधा हुने भएकाले अहिलेका लागि मर्मतमा मात्रै ध्यान दिएका छौँ,” उहाँले भन्नुभयो ।
नागढुङ्गा पूर्वीखण्ड आयोजना अन्तर्गत दुई ओटा प्याकेज छन्,” योजना प्रमुख ओझाले भन्नुभयो, “एउटा प्याकेज नागढुङ्गादेखि नौबिसे खण्डसम्म १२.२ किलोमिटर र नौबिसेदेखि मलेखुसम्म ४३.५ किमी छ । कुल ५५ किमीमध्ये हालसम्म २७ किमीमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।”
राजधानी प्रवेश गर्ने प्रमुख नाका मानिने यो खण्डमा दैनिक १८ देखि २० हजार सवारीसाधन सञ्चालन हुने गरेका छन् । चाडपर्व अवधिमा यात्रुको चाप अझ बढ्ने भएकाले खाल्टाखुल्टी टाल्ने र सतह सहज बनाउनका लागि आयोजनाले मर्मतलाई निरन्तरता दिएको जनाएको छ ।