• १३ असोज २०८१, आइतबार

भीषण वर्षाका कारण बुटवलका सडक जलमग्न (फोटोफिचर)

blog

बुटवलका सडकमा पसेको बाढी र जलमग्न सडक । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, असार १४ गते ।
भीषण वर्षाका कारण बुटवलका सबैजसो सडक जलमग्न भएका छन् । सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ भने सवारी आवागमन अवरुद्ध भएको छ । मुख्य बजार क्षेत्रमै सडकको पानीको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै भेल बगेको हो ।

कालिकानगरको मुख्य सडक, अस्पताल क्षेत्रमा पानी जमेको छ भने तिनाउ नदीमा पानीको सतह बढेको छ ।


लामो समयदेखि चर्चाको विषय बनेको राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यो समस्या आएको हो ।

तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा सुरु भएको बुटवल–बेलहिया ६ लेन सडक मुद्दामामिला र स्थानीयको विरोधका कारण तीन वर्ष रोकिएको थियो ।

आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सबै साइड क्लियर गरिसकेको अवस्थामा पछिल्लो समय ठेकेदार कम्पनीको कारण राेकिएको थियो ।  उता, ठेकेदार कम्पनीले भने ८२ रुपियाँ प्रति लिटर डिजल हुँदा स्टिमेट भएको ठेक्का अहिले बढेर १९२ रुपियाँ प्रतिलिटर हुँदा पनि भेरिफिकेसन नभएको दुःखेसो गर्दै काममा ढिलाइ गरिरहेका छन् ।


राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको कञ्चनजङ्गा बिरुवा जेबी ठेकेदार कम्पनीले लापरवाही गरेको कारण समयमा बन्न नसकेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

कुल ५० मिटर चौडाइ र २७.५० किलोमिटर दूरीको सडकको यो आयोजनाको कुल लागत छ अर्ब १३ करोड रुपियाँ छ । पाँच अर्ब ५९ करोड रुपियाँ खर्च भइसकेको उक्त सडक पटकपटक विवादका कारण रोकिँदै आएको छ ।


त्यस्तै, बुधबार बिहानदेखि परेको वर्षाले बुटवलको कालोपत्रे गर्न ठिक्क पारिएको सडकमा क्षति पुगेको छ ।