• ८ पुस २०८२, मङ्गलबार

गाजामा इजरायली कारबाहीको राष्ट्रसङ्घद्वारा कडा निन्दा

blog

न्युयोर्क, भदौ ३१ गते । गाजामा पछिल्लो दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजा पट्टीमा ‘चरम भोकमरी र कठिनाइ झेलिरहेका’ नागरिकमा यस वृद्धिको विनाशकारी प्रभाव परेको बताउनुभयो । उहाँले आफ्नो दैनिक पत्रकार सम्मेलनमा नागरिक र मानवीय कामदारको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गर्नुभयो ।

डुजारिकले युएनआरडब्लुईका आयुक्त-जनरल फिलिप लाजारिनीको वक्तव्य उद्धृत गर्दै गाजा सहरमा एजेन्सीसँग सम्बन्धित १० भवन चार दिनमै बम प्रहारबाट नष्ट भएको जानकारी दिनुभयो । तीमध्ये सात वटा विद्यालय र दुई वटा स्वास्थ्य क्लिनिक रहेका थिए, जसलाई हजारौँ विस्थापित व्यक्तिले आश्रयका रूपमा प्रयोग गरिरहेका थिए ।

उनीका अनुसार दक्षिणतर्फ जान उपलब्ध एक मात्र मार्ग राशिद रोड अत्यधिक भीडभाडयुक्त भएको छ । विस्थापित व्यक्ति त्यही बाटो प्रयोग गर्न बाध्य छन् । तर मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले दक्षिणतर्फ सर्नका लागि लागत बढेर एक हजार छ सय डलरसम्म पुगेकाले धेरै मानिस त्यो खर्च बेहोर्न नसकी गाजाको उत्तरी भागमै बस्न बाध्य भएको जनाएको छ ।

डुजारिकले सुरक्षित र दिगो मानवीय पहुँच बिना विशेष गरी बालबालिकामा भोकमरी चर्किने चेतावनी दिनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घका साझेदारलाई उद्धृत गर्दै गाजा सहरका एक तिहाइ कुपोषण उपचार केन्द्र जबरजस्ती विस्थापन आदेशका कारण बन्द भएको पनि जानकारी दिनुभयो । रासस/क्युएनए