काठमाडौँ, भदौ ३१ गते । जेनजी आन्दोलनपछि फुटबलका गतिविधि स्थगित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि तत्काल नगर्ने छनक देखाएको छ ।
एन्फाले शीर्ष ‘ए’ डिभिजन लिगका लागि छलफल गर्न १४ वटै क्लबलाई यसअघि मङ्गलबार बोलाएको थियो । तर एन्फाले मङ्गलबार क्लबहरूलाई पत्र लेख्दै प्रविधिक कारणले आगामी सुचना जारी नभएसम्म बैठक स्थगित भएको जानकारी दिएको छ ।
यसअघि एन्फाले आगामी पुसमा सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने जनाएको थियो । एन्फाले लिगलाई होम एन्ड अवेका आधारमा विभिन्न १४ जिल्लामा सञ्चालन गर्ने समेत उल्लेख गरेको थियो ।
क्लबहरूसँगको बैठक स्थगित भएसँगै पुसमा लिग नहुने सम्भावना बढेको छ । यसअघि जेनजी आन्दोलनका कारण असहज भएको जनाउँदै एन्फाले जारी यु–१६ युथ लिगलगायत फुटबल गतिविधि स्थगित गरेको थियो ।