चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनका क्रममा ताप्लेजुङमा चार राजनीतिक दलको कार्यालय तोडफोड हुँदा करिब चौरासी लाख रुपियाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनका नाममा गएको मङ्गलबार राति गरिएको पार्टी कार्यालय तोडफोडबाट चार राजनीतिक दलको मात्र उक्त रकम बराबरको क्षति भएको हो ।
राजनीतिक दलहरूले प्रहरीमा बुझाएका विवरण अनुसार कुल ८३ लाख ८९ हजार ५३० रुपियाँ बराबरको क्षति भएको छ । जिल्लास्थित चार प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय तोडफोड भएको थियो । उक्त चार राजनीतिक दलले आफ्नो जिल्ला पार्टी कार्यालय तोडफोड हुँदा हुन पुगेको क्षतिको विवरण प्रहरीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सबैभन्दा बढी एमालेले ५९ लाख ६० हजार ४० रुपियाँ बराबरको क्षति भएको विवरण बुझाएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा रहेको आफ्नै भवनमा एमालेको जिल्ला कार्यालय रहेकाले बढी क्षति हुन पुगेको हो ।
फर्निचरका सामग्री, कम्प्युटर, प्रिन्टर, कागजात लगायतका सामग्री र कार्यालय भवनको झ्याल, ढोका र अन्य संरचनामा क्षति पुर्याइएकाले उक्त रकम बराबरको क्षति भएको विवरण एमाले ताप्लेजुङले बुझाएको छ । यसतै नेपाली कांग्रेसले ११ लाख ४० हजार २४० रुपियाँ बराबरको क्षति भएको विवरण बुझाएको छ । माओवादी केन्द्रले पाँच लाख ७० हजार ५०० रुपियाँ क्षति भएको विवरण बुझाएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार रास्वपाले भने सात लाख १८ हजार ७५० रुपियाँ बराबरको क्षति भएको विवरण प्रहरी कार्यालयमा बुझाएको छ । एमालेबाहेक कांग्रेस, माओवादी र रास्वपाको कार्यालय भाडाका घर भएका कारण क्षतिको विवरण न्युन भएको बताइएको छ । निजी घरमा भाडामा सञ्चालन हुँदै आएको तीन राजनीतिक दलको कार्यालय मात्र तोडफोड भएको प्रहरीले जनाएको छ ।
जेनजी समूहको नाममा भएको तोडफोडबाट कार्यालयका सामग्री ध्वस्त भएपछि कांग्रेस बाहेकका दलले अझै कार्यालय सञ्चालनमा ल्याउन सकेका छैनन् । तोडफोड र आगजनी गरिएका फर्निचर, कागजातसहितका सामग्री तत्काल व्यवस्थापन गर्न नसकिएकाले कार्यालय सञ्चालनमा ल्याउन नसकिएको माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले बताउनुभयो ।
नेपाली कांग्रेसले भने आइतबारदेखि कार्यालय सञ्चालनमा ल्याएको छ । पार्टीसम्बद्ध जनप्रतिनिधि, निर्माण व्यवसायी, अन्य व्यवसायी लगायतबाट फर्निचर सहितका सामग्री सहयोग जुटेपछि कांग्रेसको जिल्ला कार्यालय सञ्चालनमा आएको बताइएको छ । अन्य पार्टी (दल) ले भने कार्यालय सञ्चालनका लागि आवश्यकीय सामग्री व्यवस्थापन गर्न पहल भइरहेको जनाएका छन् ।