फडिन्द्र अधिकारी
लेखनाथ, भदौ ३१ गते । पोखराका उद्योगी, व्यवसायीले शान्तिको कामना गर्दै मङ्गलबार मौन शान्ति पदयात्रा गरेका छन् । जेनजीको आन्दोलनपछि अस्तव्यस्त बनेको बजार, व्यवसाय, विनाश भएका सरकारी निकायका कारण जनमानसमा असुरक्षा रहेकाले शान्तिको कामना गरिएको आयोजकले जनाएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घले आयोजना गरको शान्तियात्रामा पोखराका उद्योगी, व्यवसायीसँगै सामाजिक क्षेत्रका व्यक्तित्वहरु सहभागी बनेका थिए । सङ्घका अध्यक्ष गोकर्ण कार्कीले ठूलो क्षतिपछि नयाँ सरकार आएको भन्दै अब शान्ति मुख्य कुरा भएकोमा जोड दिनुभयो।
“सार्वजनिकदेखि निजी सम्पत्तिमा व्यापक क्षति भएको छ । अब शान्ति कायम हुनुपर्छ भनेर शान्तियात्रा निकालेका हौँ,” उहाँले भन्नुभयो । आन्दोलनमा घुसपैठबाट व्यक्तिको सम्पत्ति र निजी उद्योग, व्यवसायमा समेत ठूलो क्षति भएको बताउँदै उहाँले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने अपेक्षा गर्नुभयो ।
गैह्रापाटनबाट सुरु भएको पदयात्रा पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, नयाँबजार हुँदै पुनः गैह्रापाटनमै पुगेर सकिएको थियो । जेनजी आन्दोलनका क्रममा पोखरामा सङ्घ, प्रदेश र स्थानीय तहका समेत कार्यालयहरु जलेका छन् भने मन्त्री, नगर प्रमुखसहित अरु व्यवसायी घर र व्यवसायमा पनि आगजनी र तोडफोड भएको छ ।