शिवशङ्कर मिश्र
बारा, भदौ ३१ गते । विषाक्त रक्सीले बाराको सुवर्ण गाउँपालिका–३, पचगछिया टोलमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय गोपाल यादव, ५० वर्षीय ऐजाजुल मियाँ र २७ वर्षीय डिहुआ भनिने रामसुरथ यादव छन् ।
वडाध्यक्ष राम क्षेत्री यादवका अनुसार सोमबार साँझदेखि राति आठ बजेसम्म उहाँहरुको मृत्यु भएको हो, तीनै जनाले पचगछिया टोलस्थित ट्रान्सफर्मर नजिकै सञ्चालित एक अवैध मदिरा पसलबाट रक्सी सेवन गरेका थिए ।
स्थानीय महावीर यादवका छोरा रामभरोस यादवले सो रक्सी पसल सञ्चालन गर्दै आएका थिए । घटनापछि अहिले उक्त पसल बन्द भएको छ, रक्सी सेवनपछि स्वास्थ्यमा समस्या देखिए पनि समयमै उपचार नपाउँदै तीनै जनाको ज्यान गएको स्थानीयहरुले बताएका छन् ।
यस घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय युवा प्रहरी, प्रशासनविरुद्ध आक्रोशित भएका छन् । अवैध रक्सी बिक्री गर्ने पसलहरु गाउँमा खुलेआम सञ्चालन भइरहेका छन्, तर नियन्त्रणका लागि प्रहरीले प्रभावकारी कदम नचालेको कारण यस्तो घटना भएको स्थानीय युवा विक्रम यादवले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता विजयराज पण्डितले भने घटनाबारे प्रहरीमा औपचारिक जानकारी नआएको बताएका छन् । यस घटनाको बारेमा सम्बन्धित व्यक्तिबाट पनि मौखिक वा लिखित हामीलाई जानकारी नआएको बताउनुभयो । एक, दुई दिन अगाडिको घटना भए पनि उनीहरु पहिलादेखि नै बिरामी रहेको सुनिन्छ, विषादीबाट नै मृत्यु भएको खण्डमा हामीले भित्री रुपमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएका छौं, उहाँले भन्नुभयो ।
अब यस्तो घटना दोहोरिन नदिनका लागि स्थानीय युवाहरुले सम्बन्धित निकायसँग तत्काल कारबाही र अवैध रक्सी भट्टीहरुको नियन्त्रणको माग गरेका छन् ।