साहारा लिम्बू
फुङलिङ, भदौ ३१ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
विद्यालयमा स्व. खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका परिवारले ५० हजार ५ सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।
सोमबार एक कार्यक्रमका बिच अक्षयकोष स्थापनासँगै अक्षयकोषको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानाध्यापक माबोको भनाइ छ । यसअघि पनि सो परिवारले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा ७५ हजार ५ सय ७५ रुपियाँको अक्षयकोष स्थापना गरेका थिए ।
विद्यालयको शैक्षिक गुणस्तर उकास्न तथा विद्यार्थीको अध्ययन प्रति रुचि बढाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको समाजसेवी देउकुमार माबोको भनाइ छ । यस्तै कार्यक्रममा यस अघि स्थापना भएको अक्षयकोषको ब्याजबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ ।
जसमा ७० हजार रुपियाँको छात्रवृत्ति र ६० हजार रुपियाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ ।