सिराज खान
नेपालगन्ज, भदौ ३१ गते । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको नजिकको क्षेत्रमा सो घटना भएको स्थानीयले जनाएका छन् ।
राप्ती सोनारी २ माथेबास मदुईमा रहेका आफन्तको घरबाट आफ्नो घर सोही गाउँपालिका–३, सिनाबास फर्किने क्रममा बेपत्ता भएकी ४५ वर्षीया लक्ष्मी थारुलाई बाघले खाएको अवस्थामा उहाँको शव भेटिएको हो ।
राप्ती सोनारी वडा ३ का वडा अध्यक्ष मीनकुमार चौधरीले दिनुभएको जानकारी अनुसार वडा २ माथेबास मदुईस्थित आफन्तको घरमा जानुभएकी वडा ३ सिनाबासकी लक्ष्मी थारु आइतबार बाटोबाटै बेपत्ता हुनुभएको थियो । उहाँको खोजतलास गर्दै जाँदा सोमवार अबेर जनमुखी सामुदायिक वनको ५० मिटर पर बाघले खाएको अवस्थामा शव भेटिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । दुवै खुट्टा खाएको र टाउको भाँचेको अवस्थामा लक्ष्मीको शव फेला परेको उहाँले जनाउनुभयो ।
सो क्षेत्रमा यसअघिदेखि नै बाघले आक्रमण गर्ने गरेको जनाउँदै वडा अध्यक्ष चौधरीले उक्त बाटोमा आवागमन गर्दा राती नहिंड्न र एक्लै पनि नहिँड्न सर्वसाधारणलाई अनुरोध गरिएको बताउनुभयो ।
बाघको आक्रमणबाट लक्ष्मीको मृत्यु भएपछि सो क्षेत्रका स्थानीयमा बाघको त्रास बढेको छ । स्थानीयले तत्काल मानिस खाने बाघको खोजी गरेर नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्ज प्रहरी प्रशासनसँग माग गरेका छन् ।
मृतक थारुको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएकोमा मङ्गलवार पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।