भाषा बोलचाल गर्ने माध्यम हो । मानिसले मानिससँग कुराकानी गर्ने साधनलाई भाषा भनिन्छ । भाषाका माध्यमबाट मानिसले मनका कुरा अरूलाई सुनाउँछ । मनमा उब्जेका विचार र भावना साट्न सघाउँछ । मानिसले दिनदिनै गर्ने कामकाज अराउने वा सिकाउने भाषाले हो । भाषा बोल्ने र लेख्ने गरी दुई किसिमको हुन्छ । बोलेर विचार साटासाट गर्ने भाषालाई कथ्य भाषा भनिन्छ । लेखेर मनका कुरा लिनेदिने भाषालाई लेख्य भनिन्छ । यी दुवै तरिका मानिसको व्यवहार चलाउने माध्यम हुन् ।
बोलचालको भाषा सरल हुन्छ । बोल्ने व्यक्ति भूगोल अनुसार उच्चारण फरक हुन्छ तर लेख्य भाषा सबैतिर उस्तै हुन्छ । लेखाइ अनुसार उच्चारण र उच्चारण अनुसारको लेखाइ हुन्छ । लेख्य भाषालाई अर्को शब्दमा मानक भाषा भनिन्छ । मानक भनेको व्याकरणको नियम अनुसार शुद्ध लेख्नु वा पढ्नु हो । बोलचालको भाषा सबैले प्रयोग गर्न सक्छन् । लेख्य भाषा पढ्न वा लेख्न सिकेकाले प्रयोग गर्छन् । यसलाई सबैतिर बसोबास भएका मानिसले एकै किसिमले प्रयोग गर्ने हुँदा मानक भाषा भनिएको हो ।
भाषा मानिसको परिचय दिने निजी सम्पदा हो । निजीलाई मौलिक पनि भनिन्छ । मानिस मातृभाषा, राष्ट्रिय भाषा, विधिव्यवहारको भाषा गरी थरी थरीका भाषा प्रयोग गर्छन् । जस्तैः नेपाली भाषा हामी धेरै नेपालीको मातृभाषा हो । यो सबै नेपालीको विधिव्यवहार चलाउने साझा भाषा हो । हाम्रो शिक्षादीक्षा यसै भाषामा हुन्छ । देशले हामीलाई दिने स्वास्थ्य सेवा वा अरू जुनसुकै सेवाको लेनदेन नेपाली भाषामै हुन्छ ।
नेपाल, मगर, राई, बान्तवा, गुरुङ, तामाङ, भोजपुरी, मैथिली, थारू भाषा नेपालका राष्ट्रिय भाषा हुन् । यी राष्ट्रिय भाषा मातृभाषा पनि हुन् । आमाको काखमा बसेर सिकिने तथा आफ्नो जाति वा वर्गमा बोलिने भाषालाई मातृभाषा भनिन्छ । विभिन्न जातिका मानिस घरपरिवारमा आआफ्ना मातृभाषामा कुराकानी गर्छन् । सबै नेपाली उपस्थित हुने ठाउँमा भने नेपाली भाषा प्रयोग गर्छन् । नेपाली हाम्रो राष्ट्रभाषा हो । यसलाई सबै नेपालीको साझा भाषा मानिन्छ ।
नेपाली भाषा पश्चिमदेखि पूर्वसम्म बसोबास गर्ने सबै नेपालीले प्रयोग गर्छन् । नेपालका कतिपय भाषा खास खास ठाउँमा प्रयोग हुन्छन् । नेपाल भाषा काठमाडौँ उपत्यकामा प्रयोग हुन्छ । भोजपुरी–मैथिली भाषाको क्षेत्र पूर्वी तराई हो । थारू भाषाको प्रयोग क्षेत्र पश्चिम तराई मानिन्छ । सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेलाई तामाङ भाषाको क्षेत्र भनेर चिनिन्छ । पाल्पा, डोल्पा, कास्की, लमजुङ जस्ता जिल्लामा मगर तथा गुरुङ भाषीको बसोबास पाइन्छ । यसै गरी नेपालमा अरू पनि धेरै मातृभाषी छन् । यी सबै भाषा हाम्रा साझा वाङ्मयी सम्पदा हुन् ।
हामी नेपाली देश विदेशमा पुगेका छौँ । भारतको देहरादुन, दार्जिलिङ, आसाम हुँदै भुटान र म्यान्मारमा पनि प्रशस्त नेपाली भाषी पुस्तौँदेखि बस्दै आएका छन् । पछिल्लो समय अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, कोरिया जस्ता मुलुकमा पनि फैलिएका छन् । हामी जो जहाँ भए पनि नेपाली भएकोमा गर्व गर्छौं । हामीलाई चिनाउने मुख्य सम्पदा भनेको सबैले प्रयोग गर्ने नेपाली भाषा हो । हामीले अरू देशसँग सम्बन्ध राख्न अङ्ग्रेजी भाषाको प्रयोग गर्छौं । अङ्ग्रेजीलाई कूटनीतिक विधिव्यवहार चलाउने भाषा पनि भनिन्छ । ज्ञानविज्ञानका क्षेत्रमा अङ्ग्रेजी भाषाको विशेष महत्व छ ।
सबै भाषा महत्वपूर्ण सम्पदाका रूपमा सम्मानित छन् । ‘हामी नेपाली हाम्रो नेपाल’ भनेर देशप्रेमी भावनाले एकताको सूत्रमा उन्ने विश्वासिलो आधार भनेकै नेपाली भाषा हो । हामी यसलाई माया गर्छौं ।