• ३० भदौ २०८२, सोमबार

कार्यालय खुले तर कर्मचारी बाहिरै

blog

काठमाडौँ, भदौ ३० गते । जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्रका अधिकांश मन्त्रालय तोडफोड र आगजनी भएपछि सामान्य सेवा सुरु भएको सिंहदरबारभित्र आइतबार कतिपय कर्मचारी कार्यालय प्रवेश नै गर्न सकेनन् । कार्यालयको मूल प्रवेशद्वारमा सिसा, काठका टक्रा र जलेका सवारीसाधनका धुलोले कार्यालय प्रवेश गर्नै कर्मचारीलाई सकस भयो । मन्त्रालय र कार्यालयमा कहाँ कति क्षति पुगेको छ भन्ने मुचुल्का तयार गर्ने काम भइरहेका छन् । अधिकांश कार्यालयमा कर्मचारी कार्यालयबाहिरै बसेर अवलोकन छन् भने केही कर्मचारी कार्यालयमा प्रवेश गरे पनि कार्यकक्ष अस्तव्यस्त अवस्थामा रहेकोले बाहिरै बस्नु परेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हिरामणि सुवेदीले कार्यालयको अवस्था बिजोग भएकाले कार्यालय प्रवेश गरेर काम गर्न सक्ने अवस्था नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अधिकांश मन्त्रालयका कागजात, फर्निचर, कम्प्युटर, गाडी, जलेर नष्ट भएका छन् । मन्त्रालयमा बसेर काम गर्न सक्ने अवस्था छैन । कतिपय कार्यालयको काम फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ ।” 

कार्यालयमा आइतबार जेनजीको आन्दोलबाट भएको क्षतिको विवरण तयार गर्ने काम भएको छ । कति क्षति पुग्यो भन्ने यकिन भएको छैन तर आइतबार कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था भने नभएको उहाँले स्पष्ट पार्नुभयो ।  

जेनजी आन्दोलनका क्रममा सिंहदबारभित्र साबिकको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबारबाहिर रहेको स्वास्थ्य मन्त्रालय, सर्वोच्च अदालतलगायतका कार्यालय र भित्रका सामग्री आंशिक वा पूर्ण रूपमा नष्ट नभएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयका उच्च अधिकारीको छलफल गरेर मन्त्रालयको काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) बाट सुरु गर्ने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार मन्त्रालयको भवन कागजात, फर्निचर, कम्प्युटर, गाडी सबै जलेर नष्ट भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत देशभरि ३० हजारभन्दा कर्मचारी कार्यरत भएको स्पष्ट पार्नुभयो ।  

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पहिलो तलाको सामान ध्वस्त नै हुने गरी जलेका कर्मचारी कार्यकक्षमा बसेर सेवा दिन सक्ने अवस्था नभएको बताउनुभयो । मन्त्रालयका अनुसार २६ वटा गाडी, ५२ वटा मोटर साइकल, मन्त्रालयका विभिन्न शाखाका कम्प्युटर, ल्यापटप, कुर्सी, टेबुललगायत गरी करिब ४३ करोड रुपियाँ बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जेनजीको आन्दोलनबाट आइतबार मन्त्रालयमा मूल प्रवेशद्वारबाट सिसाका टुक्रा पन्छाउँदै जसोतसो कार्यकक्ष प्रवेश गरेको बताउनुभयो । “अहिले कार्यालयमा बसेर कर्मचारीले काम गर्न सक्ने अवस्था छैन, आइतबार कर्मचारीले नै कार्यालय र आसपास सरसफाइ गरी क्षति भएका विवरणको मुचुल्का उठाउने काम भयो, पूर्ण रूपमा सेवा दिन केही समय लाग्छ,” उहाँले भन्नुभयो ।  

केही सेवा अनलाइनबाटै 

सरकारी कार्यालयले सम्भव भएसम्मका केही सेवा अनलाइनकै माध्यमबाट प्रदान गरेको छ । नागरिकका नगरी नहुने र अनलाइनकै माध्यमबाट गर्न सकिने काम सरकारले यसअगाडिदेखि अनलाइनकै माध्यमबाट सेवा प्रवाह गर्न थालिसकेको छ ।   

गत साता जेनजीका नाममा भएको तोडफोड तथा लुटपाटबाट देशभरका अधिकांश सरकारी संरचनामा आगजनी गरेपछि सरकारले नागरिकलाई सेवा लिनबाट वञ्चित नहोस् भनेर अनलाइनबाटै सेवा प्रवाह गर्दै आएको हो । अहिले नागरिकता, राहदानी, लाइसेन्स निर्माण, वैदेशिक रोजगारको श्रम स्वीकृतिलगायतका काम अनलाइनबाटै भइरहेका छन् ।