• १३ साउन २०८१, आइतबार

राजनीतिको मूलप्रवाहीकरणमा युवा

blog

राजनीतिक सहभागिता र समानता लोकतन्त्रका मुख्य आदर्श हुन् । सैद्धान्तिक रूपमा दुवै एकअर्काका अनुरूप भए पनि व्यावहारिक रूपमा असमान सहभागिताले लोकतन्त्रप्रति जनताको मोह भङ्ग हुने खतरा बढेको छ । सरकारमा गएका व्यक्तिको अस्वाभाविक जीवनशैलीले लोकतान्त्रिक मूल्य मान्यता झुटतन्त्र र लुटतन्त्रमा परिणत भएको छ । विभिन्न राजनीतिक दलले लिएको दलीय सिद्धान्त र चुनावी घोषणापत्र, प्रतिबद्धता एवं वचनको तालमेल मिल्दैन । नागरिकका समस्या समाधान गर्नेभन्दा थप समस्या उत्पन्न गर्ने प्रक्रिया बढ्दो छ । महँगी, बेरोजगारी, प्रशासनिक जालझेल, भ्रष्टाचार आदिले जनतामा जनप्रतिनिधिप्रति आक्रोश बढ्दै गएको छ ।

भोट माग्ने र भोट दिनेबीचको तालमेल दीर्घकालीन देखिँदैन । जनप्रतिनिधिले मनाउने ‘हनिमुन डे’ पूरा नहुँदै नेताप्रतिका आक्रोश देखिन्छ । स्थानीय पालिकाका वडादेखि सङ्घ सरकारका क्रियाकलाप अन्ततः नातावाद र लेनदेनमा टुङ्गिने गरेका दृष्टान्त छन् । नेपाली राजनीतिले सबैभन्दा ठूलो धोखा युवा वर्गलाई दिएको छ । देशका कर्णाधार भनिने युवा अनेक कारणले प्रताडित, अवहेलित गरिएका छन् । गरिखाने वातावरण देखिँदैन । जबसम्म राजनीतिले वैदेशिक रोजगारको विकल्प स्वदेशमा दिन सक्दैन तबसम्म राजनीतिक व्यवस्थाप्रति प्रश्न उठिरहन्छ । 

आगामी सङ्घीय र प्रदेश चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा युवाको उम्मेदवारीको विषयले राजनीतिमा नयाँ तर फैलिएको छ । दलीय नेतृत्वले युवा वर्गलाई मूलधारको राजनीतिमा विश्वास नगरेको परिवेशमा केही महìवपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको विजयी राजनीतिमा महìवपूर्ण अर्थ राखेको छ । दलका क्रियाकलाप युवामैत्री भएनन् भने ‘स्वतन्त्र उम्मेदवार’ को सङ्ख्या वृद्धि हुने निश्चित छ । लोकतन्त्रमा राजनीतिक दलबिना राज्य सञ्चालनको परिकल्पना गर्न सकिँदैन । अझै पनि दलका गतिविधि लोककल्याणमा आधारित भएनन् भने युवा विद्रोहले नयाँ रूप लिन सक्छ ।

छिमेकी राष्ट्र भारतमा पनि ‘आम आदमी पार्टी’ को उदय भएको छ । युवाको उदयले दलीय हैकमवादी चरित्रको धावा बोलिएको छ त्यहाँ पनि । दलमा सहभागी युवा गुटका दास र देवत्व ग्रहणले अन्धभक्त भएको समय राजनीतिक पृष्ठभूमि नभएका युवाको आन्दोलनले ‘स्वतन्त्र’ उम्मेदवारीले नेपाली राजनीति सङ्लिने लक्षण देखिने आशा गरिन्छ । दलभित्र मौलाइरहेको गुटगत राजनीतिले अनुयायी सुगा रटाइमा ‘पट्टु राम राम’ बोल्छन् । जनताको मनोविज्ञान, समाज, राजनीति, सामाजिक पुँजी आदि तìवलाई प्रभावकारी रूपमा परिचालन गर्न युवाको राजनीतिक सक्रियता आवश्यक छ । 

लोकतान्त्रिक पद्धतिमा सबैभन्दा बढ्ता प्रताडित र निरास युवा वर्ग छन् । कलेजबाट प्राप्त गरेको प्रमाणपत्र झोलामा थन्क्याएर जागिरको आशमा राजनीतिक दाउपेचमा लाग्न विवश छन् युवा । राजनेताले लक्षित गरेको परिवर्तनलाई युवाको सहभागिता बिना निष्कर्षमा पु-याउन सकिँदैन ।

बेरोजगारी, अभाव, भेदभाव, प्रताडनाको सामना गरिरहेका युवाले सङ्घीयताको माध्यमले युगान्तकारी परिवर्तन हुने आशा गरेका थिए । ‘स्वतन्त्र’ उम्मेदवारीले युवामा हतियार उठाएर क्रान्ति गर्नुको सट्टा शान्तिको मार्गबाट समाजवादी क्रान्तिको नयाँ मोडेल स्थापित गर्न खोजेको देखिन्छ । यो मार्ग ‘सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने’ हो । मतदानको प्रक्रियाबाट मक्किएका नेता र उनीहरूको वैचारिक धरातललाई सजिलैसँग विस्थापित गरियो भने यस कदमलाई स्वागतयोग्य मान्नुपर्छ । 

राजनीतिलाई परिवारको पृष्ठपोषणबाट मुक्त गरी जनकल्याणकारी बनाउनु पर्नेछ । दलले झोला बोकाएर पाखा लगाइएका युवालाई राजनीतिको अग्रभागमा सक्रिय गराउनु पर्नेछ । देशमा योग्यता, दक्षता र सामथ्र्य भएको युवाले अवसर पाउनुपर्छ । युवाको अभावमा कृषि क्रान्ति र औद्योगिक क्रान्ति असम्भव छ । युवा पलायनका कारण देशले खाद्यको समस्या बेहोरिरहेको छ । युवालाई राज्यले कामविहीन बनाउँदा संसारमा तहल्का मच्चाइरहेको परमाणु शक्ति, कम्प्युटर र नयाँ आर्थिक क्रान्तिको युगमा प्रवेश गर्ने नेपालले सपना पनि देख्न सक्दैन ।

लोकतन्त्रले युवालाई सडकमा नारा लगाउने, ढुङ्गामुढा गर्ने, नेपाल बन्द गर्ने, हत्या, हिंसा, बलात्कार गर्ने, चोरी गर्ने आदि कार्यबाट रोक्न रोजगारमूलक काम दिन सक्नु पर्दथ्यो । उच्चशिक्षा आर्जन गरेका युवालाई विदेशका गल्लीमा अदक्ष श्रमिकका रूपमा काम गराएर उनीहरूबाट आएको रेमिट्यान्सबाट देशको बजेट सञ्चालन गर्नुपर्ने व्यथाले नेतालाई किन पोल्दैन ? राजनीतिमा लागेका युवाले देवत्व ग्रहण गरेवापत पाइने ‘चिल्लो हात’ र भविष्यको ‘नेता’ बन्ने आशमा राजनीति विकासविरोधी भएको छ । दलहरूले नयाँ आशा, उमङ्ग, भरोसा र जाँगरलाई खिया लगाएर देशलाई समृद्ध बनाउने सपना देख्नु मूर्खता हो । नेपालबाहेक विश्वमा आजसम्म जति पनि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, कृषि, औद्योेगिक र वैज्ञानिक क्रान्ति सफल भए तिनका पछाडि प्रमुख आधार युवा हुन् ।

राजनीतिमा युवाको योगदान समृद्धशाली छ । १९९७ सालमा सहादत प्राप्त गर्ने चारजना शहीद (दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र धर्मभक्त माथेमा) देखि पछिल्लो पटक ‘जनयुद्ध’ मा हजारौँ युवाले देश र जनताको सुख समृद्धिका लागि बलिदान दिएका छन् । 

प्राथमिक तहदेखि उच्चशिक्षासम्म निःशुल्क र देशको भूगोल सुहाउँदो सीपमा आधारित व्यावसायिक (गरिखाने) शिक्षा पद्धति लागू गर्न युवाको नेतृत्व आवश्यक छ । वैदेशिक रोजगारमा गएका युवालाई देशभित्र बोलाएर उनीहरूले सिकेको सीप र योग्यतालाई देशको विकासमा लगाउनु पर्नेछ । युवाको भूमिका र जिम्मेवारी किटान गर्न राजनीतिमा उत्साहपूर्वक सहभागी हुने वातावरणमा आमजनताले सहयोग चाहिन्छ ।

देश र समाजको पुनर्निर्माण, ग्रामीण र सहरी युवाबीचको खाडललाई कम गर्ने योजना, युवालाई दुव्र्यसन एवं हिंसा विमुख गराउने योजना, भ्रष्टाचारीलाई कारबाही, अधिकार र कर्तव्यबीच सन्तुलन मिलाउने, सुनियोजित युवा नीति, युवाका मौलिक कर्तव्य र अधिकार स्पष्ट पार्नुपर्नेछ । युवा नीतिमा चुनौती, वीरता र साहसका अवसरलाई विशेष ध्यान दिनुपर्नेछ । युवा मतदाताले जात, धर्म, सम्प्रदाय आदि भन्दा माथि उठेर निःसन्देह जनसेवा र सार्वजनिक कार्यलाई प्राथमिकता दिनेछन् ।

युवाले ज्येष्ठ नागरिकको अनुभवबाट सिकेर नवनिर्माणको प्रक्रिया अगाडि बढाउनु पर्नेछ । बूढाहरूले देशको सेवामा कुनै न कुनै मार्गमा योगदान पु¥याएको पक्षलाई बिर्सनु हुँदैन । देशमा थाती रहेका जलसम्पदा, खनिज सम्पदाको उत्खनन र विकास गरी उत्पादन एवं रोजगारी सिर्जना गर्नु छ । जनशक्ति (मानव संसाधन) को विकासमा ध्यान दिन सकियो भने जनशक्तिको आधारमा विकासको कीर्तिमान लेख्ने जापानझैँ कुनै दिन नेपाली अर्थतन्त्रले परिचित हुने अवसर पाइनेछ । प्रकृतिप्रदत्त स्रोतसाधन हुँदाहुँदै राजनीतिक नेतृत्वको कमजोरीका कारण देश पछाडि परेको छ ।

देशका सरकारी स्कुल, अस्पताल, कृषि, उद्योगधन्दा आदिलाई ध्वस्त पार्ने निजीकरणलाई सरकारीकरण गरी सहकारिताको माध्यमले उत्पादन गर्नु छ । देशको पुँजीलाई विकासमा लगानी गरी जनशक्तिको उचित प्रयोग गर्नेतर्फ युवालाई अग्रसर गराउनु छ । राजनीतिक परिवर्तनले मात्र जनताको मुखमा माड लाग्दैन । युवामा देखिएको निरासा, असुरक्षा, अशान्ति, भ्रष्टाचार, बलात्कार, चोरी, डकैती, फिरौती, हत्या, अपहरण, लागूऔषध दुव्र्यसनी आदि न्यून गर्न राजनीतिमा युवाको सहभागिता अनिवार्य छ । राजनीतिक व्यवस्थाले युवालाई राजनीतिदेखि प्रशासनसम्म, समाजदेखि विज्ञानसम्म, खेलकुददेखि व्यवसायीसम्म सजिलै योगदान दिन सक्ने बनाउनु प्रत्येक नागरिकको जिम्मेवारी हो ।

असक्षम व्यक्ति देशको जिम्मेवारीमा पुगेपछि राज्यका अङ्ग शिथिल भइरहेका छन् । युवा वर्गलाई अवसर दिनु परेको अवस्थामा अनुभव छैन, जिम्मेवारी वहन गर्न सक्दैनन्, आलाकाचा छन्, अभ्यासमा कमजोर छन् भन्दै जिम्मेवारीबाट पन्छ्याइएको पाइन्छ । राजनीतिमा युवाको सक्रिय नेतृत्वको विषय अहिले व्यापक छलफलमा ल्याइनुपर्छ । युवाले आफ्नो अधिकार प्राप्त गर्न साम, दाम, दण्ड र भेदको सहारा लिइरहेका छन् ।

राज्य सञ्चालनको महìवपूर्ण क्षेत्र (निजामती, सेना, प्रहरी आदि) युवाको भूमिकालाई बेवास्था गरी राजनीतिमा मात्र युवालाई वञ्चितीकरण पारिएको बुझ्नु बुझाउनु छ । युवाले पार्टीका नेताको देवत्वकरण मात्र गर्नु परेको छैन र दासता सहेर बस्नुपर्ने बाध्यता छ । युवालाई दलीय नेतृत्वको दासताबाट मुक्त गराउने अधिकार नागरिकमा छ । त्यसैले राजनीतिले मात्रै राष्ट्रनिर्माण हुँदैन र राष्ट्रनिर्माणमा नागरिकको समान सहभागिता आवश्यक छ भन्ने कुरा नागरिकले बुझ्नुपर्छ । 

Author

डा. पदमराज कलौनी