• १६ असार २०८२, सोमबार

शिक्षामा समान अवसर

blog

‘समान’ भनेको बराबर हो र अवसर भनेको मौका हो । यस अर्थमा शिक्षामा समान अवसर भनेको शिक्षामा समान बराबर मौका दिनु पर्छ भनिएको हो । ‘शिक्षामा समान अवसर’ विश्वव्यापी नारा हो । कुनै पनि विद्यालय जाने उमेरका बालबालिकाले आफ्नो आर्थिक तथा सामाजिक स्तर, जातजाति, धर्म, लिङ्ग, वर्ण आदिका आधारमा विभेदरहित वातावरणमा शिक्षा प्राप्त गर्ने अवसर पाउनु भन्नु नै शिक्षामा समान अवसरको मूल मर्म हो । वर्तमान युगमा शिक्षा मानिसको आधारभूत आवश्यकताका रूपमा स्थापित भइसकेको छ । प्राथमिक तहसम्मको शिक्षालाई नै प्रारम्भिक शिक्षा भन्ने गरिन्छ । प्राथमिक शिक्षामा सबैको अवसर हुनु पर्छ भनिए पनि अझै प्राथमिक विद्यालय उमेर (५–१२) वर्षका ५.७ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको कुरा अनुसन्धानले देखाएका छन् । विद्यालयमा भर्ना भएका मध्ये पनि कक्षामा अनुपस्थित हुने, बिचैमा कक्षा छाड्ने, असफल हुने जस्ता समस्या रहेका छन् । 

समान अवसरका अवरोध

शिक्षामा समान अवसरका कुरा गर्न जति सजिलो छ व्यावहारिक रूपमा उतार्न धेरै गाह्रो छ । कुनै ठाउँमा विद्यालय खोल्दैमा र पाठ्यपुस्तकको निःशुल्क वितरण गर्दैमा शिक्षामा समान अवसरलाई शत प्रतिशत व्यवहारमा उतार्न सकिँदैन । शिक्षाको समान अवसरमा धेरै तत्वले बाधा पुर्‍याइरहेको हुन्छ । 

भौगोलिक कठिनाइ : देशको भौगोलिक कठिनाइका कारण शिक्षाको समान अवसरमा बाधा पुग्छ । भौगोलिक रूपले कठिन स्थानमा पूर्वाधार जस्तैः सडक, यातायात, खानेपानी, विद्युत्, सञ्चार जस्ता सुविधाको राम्रो प्रबन्ध नहुँदा, विकट तथा दुर्गम ठाउँमा मानिसको जनघनत्व पनि कम हुँदा थोरै मानिसका लागि विद्यालयको सुविधा पुर्‍याउन गाह्रो हुन्छ । त्यस्ता ठाउँमा बालबालिका शिक्षातिरभन्दा खेतबारीमा काम गर्ने, भाइबहिनी हेर्ने, वस्तु चराउने जस्ता कार्यमा व्यस्त रहन्छन् । भौगोलिक रूपले विकट क्षेत्रका बालबालिकाको सङ्ख्या कम हुने हुनाले त्यस्ता बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न सरकारी पक्षबाट बेवास्ता हुने र त्यस्ता बालबालिका विद्यालय भएका स्थानमा जान कठिन हुनाले शिक्षाको समान अवसरमा अवरोध हुन जान्छ । 

सुविधाको असमान वितरण : सबै ठाउँमा समान रूपले सुविधाको वितरण हुन नसक्नु नै सुविधाको असमान वितरण हो । विकासका अवसर ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी केन्द्रित 

हुनु, गाउँपालिकाभन्दा नगरपालिकातर्फ विकास बढी गरिनु जस्ता कुरा सुविधाको असमान वितरणका उदाहरण हुन् । जब सुविधा समान रूपमा वितरण गर्न सकिँदैन यसले शिक्षाको समान अवसरमा बाधा पुर्‍याउँछ । 

जनसङ्ख्याको उच्च वृद्धिदर : देशमा जनसङ्ख्या वृद्धिदर उच्च रहँदा उपलब्ध सीमित स्रोतसाधनबाट मानवका असीमित आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा देशले मानिसका न्यूनतम आधारभूत आवश्यकतामा केन्द्रित रहनुपर्ने हुँदा शिक्षामा लगानी गर्न सक्दैन । यसै गरी मानिसले पनि आफ्ना न्यूनतम आवश्यकतालाई बढी प्राथमिकता दिनुपर्ने हुँदा उनीहरूले पनि शिक्षामा लगानी र खर्च गर्न सक्दैनन् । जसले गर्दा बालबालिका शिक्षाको समान अवसरबाट वञ्चित हुन्छन् । 

कमजोर आर्थिक अवस्था : समाजमा सबै मानिसको आर्थिक अवस्था एकै किसिमको हुँदैन । उच्च, मध्यम र न्यून आर्थिक अवस्था भएका मानिस मिलेर समाज बनेको हुन्छ । उच्च वर्ग जहिले पनि मध्यम र निम्न वर्गलाई काममा लगाउँछन् । मध्यम वर्ग जेनतेन आफ्ना व्यवहार चलाउँछन् भने निम्न वर्ग सधैँ ज्यालादारी तथा मजदुरी गरेर जीवन चलाउँछन् । जसले गर्दा त्यस्ता बालबालिका शिक्षाको अवसरबाट वञ्चित रहन्छन् । 

लैङ्गिक विभेद : लिङ्गको आधारमा गरिने विभेदका कारणबाट पनि शिक्षाको समान अवसरमा अवरोध उत्पन्न हुन जान्छ । एउटै आमाबुवाको कारणबाट पनि शिक्षाको समान अवसरमा अवरोध उत्पन्न हुन जान्छ । छोराछोरीबिच हुने विभेदले गर्दा छोरीलाई अर्काको घर जाने जात भएको भनि पढ्नबाट वञ्चित गरिन्छ भने छोरालाई पढ्नुपर्ने अनिवार्य गराइन्छ । जबसम्म लैङ्गिक विभेदको अन्त्य हुँदैन यसले शिक्षाको समान अवसरमा बाधा पुर्‍याइ रहन्छ । 

समान अवसरका उपाय 

शिक्षामा समान अवसरका विभिन्न बाधा र चुनौती छन् तथापि त्यस्ता अवरोधलाई सामना गरेर शिक्षाको समान अवसरलाई विस्तृत रूपमा विस्तार गर्नुपर्ने आवश्यकता हुन्छ । शिक्षामा समान अवसर प्रदान गरेर सम्पूर्ण नागरिकलाई उनीहरूको शिक्षासम्बन्धी मौलिक अधिकारको सुनिश्चित गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छ । 

शैक्षिक लगानीमा वृद्धि : जबसम्म व्यक्ति, समाज, राष्ट्रले आफूले गर्ने शैक्षिक लगानीमा वृद्धि गर्दैनन् तबसम्म ठाउँ ठाउँमा विद्यालय स्थापना हुने, राम्रा शिक्षक भर्ना गर्ने र सबै बालबालिकालाई शिक्षाको अवसरमा समाहित गर्ने सम्भव हुन सक्दैन । अतः सबै बालबालिकालाई शिक्षाको समान पहुँचमा पुर्‍याउन शैक्षिक लगानीमा वृद्धि गर्नु पर्छ । 

सिपमूलक शिक्षाको विस्तार : शिक्षाको समान अवसर प्राप्त गर्न शिक्षा व्यावहारिक भएन भने विद्यार्थीले बिचैमा कक्षा छोड्ने, असफल हुने जस्ता समस्या आउन सक्छन् । यदि शिक्षाले सिपमूलक, व्यावसायिक एवं प्राविधिक ज्ञानको विस्तार गर्न सक्षम भयो भने यस्तो शिक्षामा व्यक्ति मन, वचन र कर्मले संलग्न हुने गर्छ । 

आर्थिक सहयोग र छात्रवृत्ति : कैयौँ बालबालिका कमजोर आर्थिक अवस्थाका कारण शिक्षाको अवसर प्राप्त गर्नबाट वञ्चित हुने भएकाले बालबालिकालाई विभिन्न आर्थिक सहयोग तथा छात्रवृत्ति जस्तै निःशुल्क शिक्षा, पोसाक, पाठ्यपुस्तक, खाजा, जेहेन्दार छात्रवृत्ति आदि प्रदान गर्न सकेमा बालबालिकालाई विद्यालयमा भर्ना गरी पढाइलाई निरन्तरता प्रदान गर्न सहयोग पुग्छ । 

शैक्षिक संस्थाको वृद्धि र समुचित व्यवस्था : जुन ठाउँमा शैक्षिक संस्था स्थापना नभएकै कारणबाट बालबालिका पढ्नबाट वञ्चित भएका छन् त्यस्ता स्थानमा शैक्षिक संस्थाको सङ्ख्या वृद्धि गर्न सकियो भने बालबालिकाले शिक्षाको अवसर प्राप्त गर्न सक्छन् । यसै गरी शैक्षिक संस्थाको स्थापना गरेर मात्र समान अवसर प्रदान गर्न नसकिने हुनाले यस्ता संस्थाको उचित व्यवस्थापनसम्बन्धी व्यवस्था मिलाउनु पर्छ । 

शिक्षाप्रति सकारात्मक धारणा : जब शिक्षा अनुत्पादक र बेरोजगार उत्पादन गर्ने साधनको रूपमा स्थापित हुन्छ तब मानिसले शिक्षाप्रति नकारात्मक धारणा राख्न थाल्छन् । शिक्षित व्यक्ति र अशिक्षित व्यक्तिबिच भिन्नता देखिएन भने शिक्षाप्रतिको आकर्षण घट्न जान्छ । तसर्थ शिक्षाबिना सुखी जीवनयापन गर्न सकिँदैन । मानव जीवनमा शिक्षाको ठुलो महत्व छ भन्ने भावनाको विकास समाज र राष्ट्रमा गर्न सकियो भने यसले व्यक्तिलाई शिक्षाको अवसर खोजी गर्न बाध्य बनाउँछ ।