प्रेमराज सिम्खडा
कालीकोट, असार १६ गते । कर्णाली राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सामान्य वर्षातका कारणले कर्णाली राजमार्गको जिते नजिकै पहिरो जाँदा जिते-मान्म सडक खण्डमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला, मुगुबाट सुर्खेतका लागि छुटेका यातायात बन्द भएका छन् । वर्षात सुरु भएसँगै कर्णाली राजमार्गमा पहिरो झर्न सुरु भएको छ ।
स्थानीय सरकारले राजमार्ग जोड्न खनेका सहायक सडक र बेलाबेला मर्मतको नाममा किस्ता किस्तामा सडक फराकिलो पार्ने चलनका कारणले जमिन थर्किंदा पहिरो झर्ने खतरा बढ्दै आएको छ । जिते भिरको चट्टान फुटेर पहिरो झरेपछि पन्छाउने काम जारी छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले पहिरो केही छिनमा पन्छाउन सकिने बताउनुभयो । वर्षातको समयमा कर्णाली राजमार्ग छिनभरमा बन्द र छिनभरमा खुल्ने गर्दछ । पहिरो पन्छाउनका लागि सडक कार्यलयले स्र्काभेटर तयारी अवस्थामा राख्ने गरे पनि पहिरो पन्छाउन भने समय लाग्ने गर्दछ ।