• २८ वैशाख २०८१, शुक्रबार

दिलमाया सुनारको हत्या आरोपमा एक पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते ।  प्रहरीले दिलमाया सुनारको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –१ घर भई हाल काठमाडौं गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्टलाई प्रहरीले हिजो नै काठमाडौंको नेपालटारबाट नियन्त्रणमा लिएको भएपनि आज सोमबार सार्वजनिक गरेको हो । 

सुनारको कोठामा आएर मृतकको श्रीमान हुँ भन्दै श्रेष्ठ उहाँसँगै बस्नेगरेको खुलेको प्रहरीले जनाएको छ । गत शानिबार काठमाडौंको तारकेश्वर –११ नेपालटारस्थित एउटा घरमा डेरागरी बस्दै आउनुभएकी ३३ वर्षीया दिलमाया कामी (सुनार) आफ्नै कोठामा मृत अवस्थामा फेला पर्नुभएको थियो । 

प्रहरी बृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरका अनुसार टोलीले अनुसन्धान गर्नेक्रममा मृतकको घाँटीमा डामजस्तो देखिएपछि घटनालाई शंकास्पदरुपमा लिएको थियो । 

प्रहरीकाअनुसार श्रेष्ठ मृतकको डेरामा पुगेर विहान ४ बजे घटना घटाएका थिए । महाराजगञ्जस्थित झाडीमा सेतो गुलाबी रङको बुट्टे सल (कपडा) प्रहरीले फेला पारेपछि त्यसको थप अनुसन्धान गरेको थियो । 

मृतकको बुबाले श्रेष्ठमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद –१२ को ज्यानसम्बन्धी कसुरमा आज सोमबार किटानी जाहेरी दिनुभएको छ । जाहेरी दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको जनाएको छ । शव पोष्टमार्टमका लागि त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।