गाईघाट समाचारदाता
गाईघाट, भदौ २३ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न ऐलानी जग्गा नापजाँचलाई तीव्रता दिएको छ ।
नगरप्रमुख कालुमान लामाले आफ्नो कार्यकालभित्रै भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने पूर्वप्रतिबद्धता अनुसार भूमिहीन दलित र सुकुमवासीलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न अहिले जग्गाको नापनक्सालाई तीव्रता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खास गरी चौदण्डीगढी नगरपालिकाको बसाहा झोडामा २०२५÷२६ सालदेखि नै बसोबास गर्दै आएका करिब सात हजार घरपरिवारका हकमा पनि आयोगले समयमै नापजाँच सकेर जग्गाधनी पुर्जा वितरण गर्ने गरी काम गरिरहेको छ ।”
जिल्लाभर नै अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या रहेको तर भूमि आयोग र सरकारी कर्मचारीको काम जनमैत्री नभएको भन्दै नगरप्रमुख लामाले गुनासो गर्नुभयो । उहाँले जस्तोसुकै प्रतिकूल परिस्थिति भए पनि अब जग्गासम्बन्धी समस्यालाई पूर्ण रूपले समाधान गर्ने बताउनुभयो ।
जिल्ला भूमि आयोग, उदयपुरका अध्यक्ष बलबहादुर तामाङले पनि चौदण्डीगढीमा भइरहेको कामको प्रशंसा गर्दै नापजाँच कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भूमि ऐन संशोधनपछि १० वर्षदेखि बसोबास गरिरहेकाको लगत सङ्कलन भइरहेको बताउनुभयोे । अध्यक्ष तामाङले भूमिहीन दलित र सुकुमवासीले लालपुर्जा लिँदा कुनै राजस्व तिर्नु नपर्ने तर अव्यवस्थित बसोबासीका लागि भने निश्चित राजस्व लिने व्यवस्था कानुनले गरेको बताउनुभयो ।
भूमि सेवा केन्द्र चौदण्डीगढीका प्रमुख यज्ञराज श्रेष्ठले वडा नम्बर ६ मा मात्रै भूमिहीन दलित ७७, भूमिहीन सुकुमवासी २९६ र अव्यवस्थित बसोबासी ५९४ गरी कुल ९६७ परिवारले लालपुर्जाका लागि आवेदन दिएको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ७ मा नापी कार्य जारी छ भने वडा नम्बर ४ मा यसअघि नापजाँच भइसकेको तर पुर्जा प्राप्त नभएका जग्गाको स्थलगत सर्जमिन तथा भोग पुष्टि गर्ने काम भइरहेको छ ।