• १६ भदौ २०८१, आइतबार

व्यासको बजेट एक अर्ब पैँसट्ठी करोड

कला र सम्पदामैत्री नगर

blog

अमरराज नहर्की

तनहुँ, असार १३ गते  । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गरेको छ । ‘विविधतायुक्त गाउँ सहर, समृद्ध हाम्रो व्यास नगर’ भन्ने नारासहित एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाद्वारा आयोजित ३५औँ नगर सभा तथा अधिवेशनमा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि कुल एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक बजेटमध्ये चालू खर्चतर्फ ८६ करोड ५५ लाख छ हजार र पुँजीगततर्फ ७८ करोड ९९ लाख ४५ हजार रहेको छ । 

नगर सभामा प्रस्तुत बजेटमध्ये आर्थिक विकासतर्फ चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपत्‍ व्यवस्थापनतर्फ छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ४० करोड ६३ लाख ८६ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

नगरप्रमुख वैकुण्ठ न्यौपानेले कुल बजेटमध्ये चालूतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायतलाई प्राथमिकतामा राखेर बजेट पारित गरिएको बताउनुभयो । नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि रु एक करोड, समता विद्यालय सञ्चालनका लागि रु एक करोड, कोभिड–१९ नियन्त्रणका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको न्यौपानेले जानकारी दिनुभयो ।  

प्रस्तुत बजेटमा व्यासलाई कला र सम्पदामैत्री नगर बनाइने उल्लेख गरिएको छ । ‘कलात्मक र सम्पदामैत्री व्यास नगर’ को अवधारणाअनुरूप प्राचीन एवं परम्परागत शैलीका सांस्कृतिक पहिचान झल्कने घर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याइएको हो । 

पर्यटकीय एवं ऐतिहासिक महìवका स्थलको संरक्षण र संवद्र्धनका लागि कानुनको तर्जुमा गर्ने नीति अघि सारेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । व्यास नगरलाई ताररहितको नगर निर्माण गर्न सम्बन्धित निकायसँंग समन्वय गरी भूमिगत विद्युत् लाइन विस्तार एवं तार व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । 

नगरभित्रका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण एवं विकासका लागि कानुन निर्माण गरी कार्यन्वयनमा ल्याइने नीति नगरपालिकाको छ । पर्यटकीय पूर्वाधारको विकास गर्दा मौलिक संस्कृतिको संरक्षण पुराताìिवक महìवका धार्मिक, सांस्कृतिक, ऐतिहासिक मठमन्दिर, गुम्बा र गुफालगायतका नगरवासीका मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । 

नगरपालिकाभित्रका होटल र होमस्टेलाई स्वच्छ तथा सफा सुग्घर राख्दै पर्यटनमैत्री बनाउन सहयोग गरिनेछ । व्यास नगरपालिकाभित्र रहेकोे व्यासको जन्मभूमि महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने र गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला निर्माण गर्ने लक्ष्य रहेको सिग्देलले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सिग्देलका अनुसार ऐतिहासिक तनहुँसुर दरबार, भगवतीपानी, मानहुँकोट, गलेखामकोट, कालिका, शहीद जङ्गल पार्क, क्यामिन कालिका, कुर्लुङकोट, ऊँ सिद्धेश्वरी महादेव, छाङ्गा वाराही, देवीडाँडा, स्वामी पार्क, हात्तीगौँडा गुफा, पोखरीभञ्ज्याङ कालिकालगायतका टाकुरा तथा मन्दिरहरूको संरक्षण एवं संवद्र्धन गरी ‘टाकुरा पर्यटन सञ्जाल’ का रूपमा विकास गर्ने नगरपालिकाले नीति लिएको छ ।