• १५ असार २०८१, शनिबार

प्रदेशको बजेटप्रति सांसद असन्तुष्ट

blog

लुम्बिनी प्रदेश सभाको बैठकमा बजेटका विषयमा छलफल गर्दै सांसद । तस्बिर : छविलाल पाण्डे

बुटवल, असार १३ गते । लुम्बिनी प्रदेशका सभासद्हरूले लुम्बिनी प्रदेशको समृद्धिमा योगदान पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । लुम्बिनी प्रदेश सभाको १०औँ अधिवेशनको १६औँ बैठकमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको छलफलमा सभासद्हरूले प्रदेश सरकारले ल्याएको बजेटले लुम्बिनी प्रदेशको समृद्धिमा जोड नदिएको तर्क गरेका छन् ।

बजेटमाथिको छलफलमा भाग लिँदै सांसद युवराज खनालले आफूहरूले माग गरेभन्दा फरक खालको बजेट आएको भन्दै यस प्रकारको बजेटले प्रदेशको समृद्धिमा योगदान पुग्न नसक्ने बताउनुभयो । उहाँले बजेटमा टुक्रे योजना बढी समावेश भएको, महŒवपूूर्ण आयोजनाको रकम काटिएको, बजेटलाई चुनाव केन्द्रित गरिएको र धेरैलाई योजना दिने नाममा बजेटले स्पष्ट दिशानिर्देश गर्न नसकेको बताउनुभयो । 

सांसद खनालले प्रदेशकै गौरवको सडक आयोजना मानिएको पाल्पाको रामपुरदेखि रोल्पाको कपुरकोटसम्मको सडकअन्तर्गतको आर्यभञ्ज्याङदेखि रामपुर खण्डका लागि कुनै बजेट विनियोजन नगरिएको गुनासो गर्नुभयो । सांसद जल्पा भुसालले प्रदेशका पुल निर्माण एकदमै सुस्त गतिमा रहेको ध्यानाकर्षण गराउँदै बजेटले प्रदेशका जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको बताउनुभयो । उहाँले प्रदेश राजधानी जोड्ने गच्छे–भालुबाङ सडकमा अत्यन्त न्यून बजेट विनियोजन गरिएको गुनासो गर्दै यही तवरले प्रदेशको विकास कछुवाको भन्दा पनि कम गतिमा हुने उल्लेख गर्नुभयो । 

सांसद तारा जीसीले प्रदेशको नयाँ बजेट कनिका छरेसरह भएको टिप्पणी गर्दै नेताहरूलाई रिझाउने नाममा धेरै योजना र टुक्रे आयोजनामा बजेट राखिएको र यस प्रकारको बजेट निर्माणले प्रदेशको वास्तविक समृद्धि नहुने बताउनुभयो । सांसद जीसीले गुनासो गर्दै पहुँच र भनसुनका आधारमा योजना पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद कृष्ण न्यौपानेले सबै सांसदलाई बजेट समान रूपमा वितरण गर्नुपर्नेमा राजनीतिक दलको पहुँचका आधारमा बजेट भाग लाउने काम भएको भन्दै यस्तो बजेटले प्रदेशको समानुपातिक विकास नहुने जिकिर गर्नुभयो । 

सांसद गीता थापाले अर्घाखाँचीको पटाटी दुर्गाफाँट सडकका लागि विभिन्न पाँच खण्डमा बजेट परेको तर यस प्रकारको खण्डे बजेटले सडकको विकास नहुने भएकाले बजेट बनाउँदा ध्यान दिन आग्रह गर्नुभयो । टुक्रे, भनसुन र नेतामुखी बजेट आएको तर्क उहाँले गर्नुभयो । सांसद तुलसी चौधरीले बुटवलको बेलबासदेखि भारतको सीमा बेथरी जोड्ने सडकलाई बजेट कम छुट्याएकोमा सरकारको ध्यानाकर्षण गराउँदै ठूला निर्माणका सडक आयोजना छिटो सम्पन्न गर्ने गरी बजेटले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । 

सांसद अष्टभुजा पाठकले रुपन्देहीको मर्चवार क्षेत्रमा बजेट कटौती भएकोतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेवतीरमण शर्माले पहिले राखिएको योजनासमेत यो बजेटले काट्ने काम गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बजेट कुन–कुन क्षेत्रमा प्राथमिकतासाथ छुट्याउनुपर्छ, त्यो नहेरिएको गुनासो गर्नुभयो ।