• ५ जेठ २०८१, शनिबार

प्रदेश सभामा एमालेको अवरोध

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असार १३ गते । बागमती प्रदेशको प्रदेश सभाको बैठक आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्यले अवरुद्ध गरेका छन् । विनियोजन विधेयक २०७९ माथिको छलफल गर्ने कार्यसूची रहेकोमा आइतबारको बैठक एमालेका प्रदेश सभाका सदस्यले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको बैठक अवरुद्ध गरेका हुन् । बैठकको सुरुमा एमालेका प्रदेश सभाका सदस्यले प्रदेश बजेट मूल्य मान्यताविपरीत आएको भन्दै उठेर विरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका प्रमुख सचेतक दीपक निरौलालाई बोल्न समय दिनुभएको थियो ।  

एमालेका प्रमुख सचेतक निरौलाले बढ्दो महँगीलाई सम्बोधन गर्ने गरी र जनतालाई राहत दिने गरी बजेट नआएको बताउनुभयो । उहाँले राजधानी आउनेलगायतका सडक दुरवस्थामा पुगेको, हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीका मार्ग अवरुद्ध हुने अवस्थामा रहेको बताउँदै विगतका सरकारले ल्याएको गौरवका योजनाहरू र बहुर्षीय योजनाहरू रोकेर निर्वाचनमुखी र टुक्रे योजना समेटेर बजेट ल्याएको बताउनुभयो ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलको धादिङ जिल्लालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “समानुपातिक रूपमा बजेट आएन । १३ वटा जिल्लालाई समानुपातिक रूपमा, क्षेत्रफलको आधारमा, भूगोलका आधारमा र आवश्यकताका आधामा बजेट विनियोजन भएको छैन ।”

प्रमुख प्रतिपक्षीसँग छलफल राजनीतिक सहमति र सहकार्य गर्ने प्रतिबद्धताअनुसार समावेशी र क्षेत्रीय सन्तुलन कायम गरेर ल्याउने बताए पनि त्यसरी बजेट नआएको भन्दै उहाँले सरकारले सहज प्रक्रियाबाट प्रदेश सभाको बैठक चलाउन नचाहेको बताउनुभयो । विगतमा सिमेन्टमा प्राकृतिक स्रोतमा लागेको कर दोहोरो करको नाममा हटाइएको, अदालतमा विचाराधीन विषयमा कर हटाएर २० करोड रुपियाँभन्दा बढी राजस्व गुम्ने अवस्थामा पु-याएको, राज्यलाई क्षति पुग्ने र राज्यलाई कमजोर पार्ने काम भएको भन्दै उहाँले भन्नुभयो, “सिमेन्ट उद्योगीसँग मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको छ ।”

मिलेमतोमा नदीजन्य पदार्थको उत्खनन र बिक्रीमा समेत सरकारले गलत ढङ्गले बजेटमा व्यवस्था गरेको भन्दै उहाँले आगामी आवको बजेट कार्यक्रम एउटै वडामा ६१ वटा योजनाका लागि बजेट र झन्डै चार सय योजना दोहोरिएर र कतिपय योजना पाँच ठाउँमा रहेको छ भन्नुभयो ।

सरकारको कोषबाट भ्रातृ सङ्गठनलाई बजेट विनियोजन गरेको प्रति आपत्ति जनाउँदै उहाँले सभामुखको उपस्थितिमा मुख्यमन्त्रीसँग भएका सहमति कार्यान्वयन गर्ने र विश्वासको वातावरण तयार नभएसम्म सदनको कारबाही बढ्न नदिने बताउनुभयो । एमाले प्रदेश सभाका सदस्यहरूले उठेर विरोध जनाएपछि सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । यसैबीच एमालेका प्रदेश सभाका सदस्यहरूले आगामी आवको बजेट पुस्तिका मुख्यमन्त्री पाण्डेलाई फिर्ता गरेका छन् ।बागमती प्रदेशको प्रदेश सभा बैठकमा सहभागी प्रदेश सभाका सदस्यहरू ।