• ११ माघ २०८२, आइतबार

कर्णालीको पानी रोक्न बनाएको तटबन्धमूनि उत्खनन्

blog

कैलालीको जानकी गाउँपालिका –६ स्थित कर्णाली किनारमा भइरहेको उत्खनन् । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, माघ ११ गते । कैलालीको जानकी गाउँपालिका –६ स्थित कैलाशेश्वर सामुदायिक वनको किनारमा उत्खनन् गर्नेको संख्या बढेको छ । नदी किनारबाट करिब पाँचसय मिटर पर जानकी गाउँपालिकाले ढुङ्गा, गिट्टी, बालुवाका ठेक्का लगाए पनि किनारमै उत्खनन् भइरहेको छ । 

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट गत वर्ष मात्र बोल्डर (ठूला ढुङ्गा) हालेर सुरक्षित बनाएको वनको किनारमा दैनिक सयौंको सङ्ख्यामा ट्याक्टरमा बालुवा उत्खनन् गरेर लैजाने गरिएको छ । यस क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले बनाएको तटवन्ध भत्किएपछि नदीको बेग रोक्न बोल्डर खसालेर रोकथाम गरिएको हो । 

हिउँदमा पानी घटेका बेला यहीनेर बालुवा उत्खन्न भइरहेको छ । उत्खन्नका क्रममा पुरानो तटवन्धमा तारजालीमा भरिएका ढुङ्गा निकालेर लैजाने गरिएको छ भने त्यहाँ खसालिएका बोल्डरमूनि उत्खनन् जारी छ । 

यहाँबाट उत्खनन् भइरहेका बालुवाको कैलाशेश्वर सामुदायिक वनले प्रवेश शुल्क र ढुङ्गा गिट्टीको ठेकेदार कम्पनी एसआर निर्माण सेवाले रोयाल्टी सङ्कलन गरिरहेका छन् । जानकी गाउँपालिकाका राजस्व शाखाका प्रमुख गङ्गा चौधरीले केहीदिन अघिसम्म अनुगमन भइरहेको, पछिल्ला दिनमा ठेक्का नलगाएकै ठाउँमा उत्खनन् भएको गुनासो आएको बताउनुभयो । 

नजिकै कार्यालय रहेको कैलाशेश्वर वनका अध्यक्ष खडकबहादुर शाहले आफूलाई त्यसबारे जानकारी नभएको र रोक्न लगाउने बताउनुभयो । ढुङ्गा गिट्टीको अवैध उत्खनन् रोक्न जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र नजिकका वन कार्यालय र उपभोक्ता संस्थाको जिम्मेवारी भए पनि सबै पक्ष बेखबर रहेका छन् । 

स्थानीय अमर रिमाल तल्लो तटमा भइरहेको विकास पूर्वाधारका संरचना र बस्ती सुरक्षित गर्न नदीमा तटवन्ध बनाए पनि यहाँ भइरहेको उत्खनन्ले जोखिम निम्त्याउने बताउनुहुन्छ ।