• १३ साउन २०८१, आइतबार

रुस–युक्रेन द्वन्द्वले देशमा महँगी बढ्यो : अध्यक्ष गोल्छा

blog

लालबन्दी उद्योग वाणिज्य सङ्घको साधारण सभा उद्घाटन गर्दै उद्योग वाणिज्य महासङ्घ अध्यक्ष शेखर गोल्छा । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार १२ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले रुस र युक्रेनबीचको द्वन्द्वका कारण देशमा महँगी बढेको बताउनुभएको छ । सर्लाहीमा आइतबार उद्योग वाणिज्य सङ्घ लालबन्दीको आठौँ वार्षिक साधारण सभा एवम् अधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष गोल्छाले अधिकांश वस्तु आयात हुने दुई मुलुकबीच द्वन्द्व बढ्दा यहाँका नागरिक मङ्गीको चपेटामा परेको बताउनुभयो । रुस–युक्रेन द्वन्द्वले  मुलुकको अर्थतन्त्रमा अहिले गम्भीर धक्का पुगिरहेको उहाँको भनाइ छ ।  

अध्यक्ष गोल्छाले खस्कँदो अर्थतन्त्रलाई उकास्न विदेशी पर्यटकलाई बढीभन्दा बढी देशमा भित्र्याउने र नेपाली दाजुभाइले विदेशमा दुःख गरेर पठाएको पैसा (रेमिट्यान्स) को सही सदुपयोग गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले पनि जटिल अवस्था सिर्जना भएको उद्योग वाणिज्य महासङ्घका अध्यक्ष गोल्छाको भनाइ छ । 

मुलुकलाई समृद्ध बनाउने कुरामा निजी क्षेत्र जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले सरकारले पनि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । साधारण सभा उद्घाटन समारोहमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी लगायतले मन्तव्य राख्नुभयो । 

साधारण सभाबाट उद्योग वाणिज्य सङ्घ लालबन्दीको नयाँ नेतृत्व चयन गरिने वर्तमान अध्यक्ष कल्याणकुमार जोशीले जानकारी दिनुभयो । साधारण सभा उदघाटनकै अवसर पारेर नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष गोल्छाले आइतबार नै उद्योग वाणिज्य सङ्घ लालबन्दीको नवनिर्मित भवनको उदघाटन गर्नुभयो ।  

एक करोड ४४ लाख रुपियाँ लागतमा तीनतले आधुनिक भवन निर्माण गरिएको हो ।  कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको छ ।