विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ १७ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो हाम्रो पार्टीको आएको बताउनुभएको छ ।
मधेश प्रदेशमा मधेशी दलहरूले साढे सात वर्षदेखि सरकारको नेतृत्व गरिसकेकोले अब नेतृत्व गर्ने पालो हाम्रो भएको उहाँले बताउनुभएको हो ।
राजविराजमा मङ्गलबार लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष ठाकुरले सात प्रदेश मध्ये तीन कांग्रेस, तीन एमालेले लिने र मधेश प्रदेश मधेशी दलहरूलाई दिने केन्द्रमा भएको सत्ता गठबन्धनबिचको सहमति अनुसार यो प्रदेशमा मधेशी दलले नै सरकार बनाउने हुँदा अब नेतृत्व गर्ने पालो लोसपाको रहेको दाबी गर्नुभयो ।
“मधेश प्रदेशमा कांग्रेस–एमाले दुई ठुला दल मिलेर पनि सरकार बन्ने स्थिति छैन्, मधेशी दलको पनि साथ चाहिन्छ र मधेशी दलहरूले नेतृत्व गरिसकेको छ त्यसैले अबको पालो हाम्रो हो” अध्यक्ष ठाकुरले भन्नुभयो, “अहिले तत्कालै मधेश प्रदेशमा सरकार परिवर्तनको सम्भावना छैन्, तर, रूपन्देहीको उप–चुनाव पछि परिवर्तनको सम्भावना छ ।”
उहाँले केन्द्रमा दुई ठुला दलको बहुमतको सरकार रहेकोले २०८४ सम्म चल्ने बताउनु हुँदै लोसपा सरकारमा रहेरै जनताको पक्षमा काम गर्ने स्पष्ट पार्नुभयो । सरकारमै रहेर शान्तिपुर्ण आन्दोलनमा पनि रहेको बताउनु हुँदै उहाँले अन्नको भण्डार मधेशमा भएको खडेरी र खानेपनी समस्याबारे सरकार र सदनमा पनि आवाज उठाउने काम आफूले गरिरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगै आफुपनि मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेको भन्दै उहाँले प्रधानमन्त्रीले पाँचसय डिप बोरिङ दिने घोषणा गरेर पनि अहिलेसम्म नदिएको प्रति असंतुष्टि पोख्नुभयो ।
सप्तरीका राजविराजमा बुधबार आयोजना हुने सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागि हुन आइपुग्नुभएका अध्यक्ष ठाकुरले विगतमा भएको आन्दोलनबाट पहिचान पाएको तर अधिकार नपाएकोले मोर्चा बनाएर जनताबिच गइरहेको स्पष्ट पार्नुभयो ।
जनसङ्ख्याको आधारमा बजेट निर्माण हुनुपर्ने भन्दै अध्यक्ष ठाकुरले मधेश प्रदेश बाट जाने राजस्वको कम्तिमा पनि ३५ प्रतिशत पाउनुपर्ने धारणा राख्नुभयो । “मधेश प्रदेशबाट जाने राजस्वको २० प्रतिशत पनि मधेशमा अहिले सम्म आएको छैन्” उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झा सहित पार्टीका नेता कार्यकताहरूको उपस्थिति थियो ।