नवीनराज कुइँकेल
लमजुङ, भदौ १७ गते । उच्च गतिको मोबाइल र इन्टरनेट सेवा ग्रामीण क्षेत्रसम्म पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले लमजुङ जिल्लाका दुर्गम क्षेत्रमा जिएसएम प्रविधिमा आधारित फोरजी सेवा विस्तार गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको विशेष पहलमा टेलिकमले लमजुङका सन्जापु, उदीपुर ड्यामसाइट, मनाङे चौतारा, भिरपुस्तुन र ओखरीजस्ता बस्तीहरूमा जिएसएम सेवा थप गरी प्रविधि विस्तारको काम सम्पन्न गरेको हो । वर्षा यामका चुनौतीहरूका बाबजुद पनि क्लोलासोथार, मध्यनेपाल, सुन्दरबजार, बेँसीशहर, मर्स्याङ्दी, दोर्दी, राइनाससहित आठवटै स्थानीय तहमा सञ्चार प्रविधि स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको नेपाल टेलिकम लमजुङका कार्यालय प्रमुख राममणि लटौलाले बताउनुभयो ।
त्यसैगरी लमजुङको क्ब्होँलासोंथर गाउँपालिकाको मालिङ, मर्स्याङ्दी गाउँपालिकाको घनपोखरा र सिउरुङमा पनि जिएसएम प्रविधिमा आधारित फोरजी सेवा विस्तारको तयारी गरिएको छ । नेपाल टेलिकम लमजुङका कार्यालय प्रमुख लटौलाले यी क्षेत्रमा पनि एकचरणको सर्भे भई काम अघि बढाईएको बताउनुभयो । सञ्चार मन्त्री गुरुङको विशेष पहलमा यी क्षेत्रमा जिएसएम प्रविधिमा आधारित फोरजी सेवा विस्तार गरिएको हो । विगतमा गुणस्तरीय सेवा नभएको भन्दै गुनासो आइरहेकाले यी क्षेत्रमा जिएसएम प्रविधिमा आधारित फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकम लमजुङले जनाएको छ ।
“सञ्चारको अधिकार, पहुँच सबैका लागि” सबैको पहुँच भन्ने नारालाई सार्थक बनाउने दिशामा जिल्लामै पहिलो पटक महत्त्वपूर्ण काम भएको स्थानीयवासीले बताएका छन् । टेलिकमका अनुसार, फोरजी सेवाले शिक्षण सिकाइ, टेलिमेडिसिन, आपतकालीन सूचना प्रणाली, कृषि तथा साना उद्यमहरूमा प्रत्यक्ष सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसले लमजुङका ग्रामीण क्षेत्रहरूमा सूचना प्रविधिमा आधारित समावेशी विकासको ढोका खोलेको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव एवम् पूर्व प्रदेश सांसद धनञ्जय दवाडीले बताउनुभयो ।
टेलिकमको यस प्रविधि विस्तारपछि लमजुङका दुर्गम क्षेत्रका बासिन्दाहरूले उच्च गतिको इन्टरनेट तथा गुणस्तरीय मोबाइल सेवा उपयोग गर्न पाउने भएका छन् । यसले ग्रामीण क्षेत्रका शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा र आर्थिक क्रियाकलापमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षाका साथ काम गरिएको सञ्चारमन्त्रीका स्वकिय सचिव विक्रम न्यौपानेले बताउनुभयो । नेपाल टेलिकमले भविष्यमा थप स्थानहरूमा सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।
विगतमा दुर्गम बस्तीहरूमा गुणस्तरीय सञ्चार सेवा अभाव रहेको गुनासो व्यापक रहेको थियो । अहिले जीएसएम फोरजी सेवाको पहुँचपछि ग्रामीण बासिन्दाहरूले पहिलोपटक उच्च गतिको इन्टरनेट र विश्वसनीय मोबाइल सेवा अनुभव गर्न पाएको टेलिकमले जनाएको छ ।