भारतको उत्तर प्रदेशको हमिरपुर जिल्लामा एक जोडी कुकुरबीच भव्य विवाह भएको छ । बिहेको आयोजना बालयोगी जुना अखडाका साधु श्री श्री १००८ सन्तोषानन्द महाराजले गरेका थिए । हामीले मान्छेको बिहे त अनेक खालका देखेकै छौँ । कहिलेकाहीँ धार्मिक विश्वासमा जनावरका बिहे पनि गरिदिने चलन छ । पानी पार्नका लागि भ्यागुताको बिहे गरिदिने चलन हामीले सुनेको, देखेकै छौँ ।
एक जोडी कुकुरबीच त्यहाँ धुमधामसँग हिन्दु परम्परा अनुसार विवाह भयो । बिहेका लागि मण्डप तयार पारेर बिहेअघिका संस्कार पनि सम्पन्न गरिएको थियो । बिहेको दिन बाजागाजासहित भव्य रूपमा जन्ती निस्केर बेहुली विचित्र कुमारीलाई अन्माउने कार्य सम्पन्न भयो ।
सन्तोषानन्द महाराजले सेवानन्द नामक कुकुर पालेका थिए । उनले उसैको बिहे गरिदिएका हुन् । बेहुली कुकुर विचित्र कुमारी चाहिँ मुसाही मौजा गाउँका सन्त लक्ष्मण नन्दले पालेका हुन् । सेवानन्द र विचित्र कुमारीको बिहेमा सयौँ मानिस भेला भएका थिए ।
यस्तो खालको कुकुर विवाहको समाचारप्रति मानिसले विभिन्न खालका प्रतिक्रिया जनाएका छन् । कतिपयले यसलाई हास्यास्पद भनेका छन् भने कतिले उक्त कार्यलाई पशु प्रेम, पर्यावरण र जीवनप्रतिको संवेदनशीलता अभिव्यक्त गर्ने उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
–युवामञ्च