• १७ भदौ २०८२, मङ्गलबार

कारागारमा एक्लो कर्मचारी

blog

यदुप्रसाद भट्ट

मनाङ, भदौ १७ गते । प्रायः कैदीबन्दी शून्य रहने मनाङ कारागारमा पछिल्लो वर्षमा कैदीबन्दी तथा थुनुवाको सङ्ख्या बढ्दै गएको छ । शान्ति सुरक्षाका दृष्टिले कम संवेदनशील मानिएको मनाङको सदरमुकाम चामेस्थित कारागारमा पाँच जना कैदीबन्दी तथा तीन जना थुनुवा गरी आठ जना रहेको मनाङ कारागार प्रशासक महेशकुमार गौतमले बताउनुभयो । 

गौतमले विभिन्‍न मुद्दामा संलग्न भई अदालतबाट दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेकामध्ये कर्तव्य ज्यान मुद्दाका दुई जना, सुनको अवैध कारोबार मुद्दाका एक जना, सवारी ज्यान मुद्दाका एक जना र जबरजस्ती करणी मुद्दाका एक जना गरी जम्मा पाँच जना कैदीबन्दी रहेको बताउनुभयो ।

त्यसै गरी उहाँले अदालतबाट पुर्पक्षका लागि थुनामा पठाएकामध्ये जबरजस्ती करणी मुद्दाका एक जना, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक जना र कुटपिट तथा अङ्गभङ्ग मुद्दाका एक जना गरी तीन जना थुनुवा रहेको बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा कुल सात कैदीबन्दी रहेकोमा आव २०८१/८२ मा विभिन्‍न मुद्दामा छ कैदीबन्दी थप भएका थिए । सोही आवमा छ कैदीबन्‍दीले कैद सजाय भुक्तान गरी रिहा भएको कारागार प्रशासक गौतमले बताउनुभयो । 


आठ जना थुनुवा तथा कैदीबन्दी रहेको कारागारको प्रशासनिक जिम्मा गौतम एक्लैले गर्नुभएको छ । भेटेनरी र जिल्ला प्रशासन कार्यालयमा कार्यरत लेखापाल वासुराम परियारले लेखा मात्रै हेर्न भ्याउने र बाँकी काम आफू एक्लैले गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बस्नखानका लागि पर्याप्त सुविधा भए पनि दरबन्दीअनुसारका कर्मचारी नभएकोले कार्य सम्पादनमा सामान्य समस्या हुने गरेको छ ।’’ दरबन्दी अनुसारका स्वास्थ्यकर्मी समेत नभएकाले बन्दीहरूको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमै लैजानुपर्ने बाध्यता रहेको छ ।