• १७ भदौ २०८२, मङ्गलबार

धादिङ–मलेखु सडकः दारेगौँडाभिरमा अझै भासिने र पहिरो जाने क्रम रोकिएन

blog

मलेखु (धादिङ),भदौ १७ गते ।  धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो । स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ । सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।

विसं २०५६ बाट सुरु भएर २०५८ सालमा कालोपत्र सकिँदादेखि हालसम्म निरन्तर यही सडक प्रयोग गर्दै आउनुभएका स्थानीयवासी भरत ढुङ्गाना भन्नुहुन्छ, “पछिल्ला वर्षहरूमा सडक तलतिर दबिने र माथिबाट पहिराले धकेल्ने क्रम झन् बढेको छ ।”

सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडक यही हो । नीलकण्ठ –८ दारेगौँडामा सडक भासिन थालेको झण्डै २४ वर्ष भयो । हुन त गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजन कार्यालयले मर्मतको ठेक्का लगाएको थियो । मर्मत सुरु भएको पनि थियो । तर भौगोलिक अवस्था अध्ययन नगरी हचुवाका भरमा काम गरिँदा काम सक्नै नपाई पहिराले क्षति पुर्‍यायो । त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको ढुङ्गानाले बताउनुभयो ।

हरेक समय सडकको बीच भागबाट नै चिरा परेर भासिँदै जाने र बर्सेनि टालटुल गरेर त्यसैमाथि कालोपत्र हालिदै आएको सडकमा अहिले त नजिक पुग्दा पनि डरलाग्दो बनेको छ । सडकको छेउबाट कुनासम्म नै दबिएको छ । आधा भागमा त मान्छे गएर उभिनसक्ने अवस्था पनि छैन । कुनापट्टिबाट ढेप्पिएर जसोतसो गाडी वारपार भइरहेको छ । ठूला गाडीले आधा टायर पहिरोमा झुण्ड्याएरै पहिरो छिचोल्नुपर्ने बाध्यता छ ।

 अन्यत्र जिल्लाबाट सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडकको दारेगौँडा पार गर्दा यात्रु र सवारी चालकलाई हम्मेहम्मे हुने गर्दछ  । चालक डम्बरबहादुर श्रेष्ठले भन्नुभयो, “पहिरोको बीचतिर पुग्दा त ज्यानै सिरिङ्ग हुन्छ, लोड लिएर आएको बेला गाडीसहित खसियो भने बाँचाैंला भन्ने आश छैन ।” 

पहिरोको लम्बाइ करिब एक सय मिटरमात्र छ । सडक मर्मतमा ध्यान नदिँदा हरेक वर्ष जोखिम बढ्दै गएको हो । भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ । सडकको तल्लोपट्टि थोपल खोला छ । खोलाकिनारदेखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ । माथिबाट पनि पहिरो खस्ने क्रम दिनहुँ बढ्दो छ ।

सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ । सडक विभाग, स्थानीय सरकारका जिम्मेवार व्यक्ति दैनिक यही सडक हुँदै सदरमुकाम आवतजावत गर्छन् । तर सम्भावित जोखिम र दुर्घटनाबारे चासो देखाएको पाइँदैन ।

जानकारहरूका अनुसार पहिरो रोक्न खोला किनारदेखि नै पर्खाल उठाएर मर्मत गर्नुपर्छ । मर्मतका नाममा पहिलोपटक यस वर्ष केही भागमा ग्याबियन जाली लगाइयो । त्यो ग्याबियन जालीपछि सडकसँगै भासिएको छ । जग नै बलियो नभएको सडकको टुप्पामा अलिकति जाली लगाएर सडक विभागले झारा टार्ने काममात्र गरेको स्थानीयको गुनासो छ ।

कालु पाण्डे मार्गका तत्कालीन सुपरभाइजर अर्जुन सापकोटाले ‘स्वायल टेष्ट’ गरेर दीर्घकालीन समाधानको बाटो खोजिरहेको बताउनुभएको थियो । तर गत आर्थिक वर्ष बजेट हालेर पनि दीर्घकालीन बाटो पहिल्याउन नसक्दा जोखिम झनै बढेको छ । भएका वैकल्पिक सडकको सामान्य मर्मत गरी प्रयोगमा ल्याउन र त्यस स्थानमा हुनसक्ने सम्भावित दुर्घटना रोक्नतर्फ सम्बन्धित निकायलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

 यस्तो छ वैकल्पिक बाटो

वैकल्पिक बाटोका रूपमा ससाहको देउराली चौताराबाट इँटाभट्टा, मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरेको प्रतीक्षालय निस्किन मिल्छ । तर कच्ची सडक हिलो र खाल्डाखुल्डी मर्मत नगरिँदा सवारीसाधनले यो बाटो पनि प्रयोगमा ल्याउन सकेका छैनन् ।

फोरह्वील र अग्ला सवारी जान सक्ने भए पनि सबै खालका सवारीसाधन पार गर्न सक्ने अवस्था नहुँदा वैकल्पिक बाटो प्रयोगविहीन छ । ससाह खोला र खेत आसपासका करिब पाँच सय मिटर दूरीमा सडक अप्ठ्यारो छ । अप्ठ्यारो भागमा ग्राभेल गरेर वैकल्पिक बाटो प्रयोगमा ल्याउन सकिए सम्भावित दुर्घटना रोक्न सकिनेछ । दारेगौँडाको पहिरो नजिकै चौतारोबाट पनि मैदीभन्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्किने बाटो पनि छ । रासस