• १८ भदौ २०८२, बुधबार

गोरखा बस दुर्घटनाका घाइते दुई जनालाई काठमाडौँ पठाइयो

blog

गुणबहादुर रोका         
सुलीकोट, भदौ १७ गते ।
गोरखामा बस दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

जिल्लाको  भीभसेन थापा गाउँपालिका – ३ तान्द्राङको टारीफाँटमा काठमाडौँबाट गोरखा सदरमुकाम हुँदै आरुघाटको सोतीतर्फ जाँदै गरेको प्रदेश – ०१००६ ख ४१३९ नम्बरको रात्रिकालीन बस घुम्ती सडकमा दुर्घटना हुुँदा २६ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार मङ्गलबार  बिहान करिब ७ बजे रात्रिकालीन बस दुर्घटना हुँदा २६ जना घाइते भएका थिए भने घाइतेमध्ये दुई जना गम्भीर भएका थिए । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि काठमाडाैं रेफर गरिएको उहाँले बताउनुभयो ।   

२४ जना घाइतेको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बस दुर्घटनामा घाइते हुनेहरुको विवरण खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।