हुम्ला समाचारदाता
हुम्ला, भदौ १७ गते । चिनियाँ पक्षले दुई देशको सिमाना हिल्सामा नेपालतर्फको सडकलाई कालोपत्रे गरेको छ । यसअघि गत मङ्सिर महिनामा दुई देश जोड्ने मितेरी पुल चिनियाँ पक्षले निर्माण गरिसकेको र अब सम्झौता अनुसारको नेपालतर्फको सडक कालोपत्रे गर्ने कार्य पनि सम्पन्न गरेको हो ।
चिनियाँ पक्षले हिल्सामा नेपालतर्फको सडकलाई कालोपत्रे गर्ने कार्य सम्पन्न गरेको त्यसको अनुगमन तथा समन्वय गर्ने जिम्मा पाएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । चिनियाँ पक्षले हिल्साको कर्णाली नदीमाथि दुई देश जोड्ने पक्की पुल यसअघि नै निर्माण गरिसकेको थियो । दुई देशबिच भएको सम्झौता अनुसार पक्की पुल निर्माण गरिसकेपछि चिनियाँ पक्षले नेपालतर्फको पुलको अन्तिम विन्दुबाट साढे तीन सय मिटर सडक निर्माण गरेर कालोपत्रे गर्नुपर्ने भनिए अनुसार सो सडकको कालोपत्रे गरेको हो ।
आठ मिटर चौडा सडक कालोपत्रे गरिएको छ । कालोपत्रे मापदण्ड अनुसार सुरु भएर सम्पन्न भएको उहाँले बताउनुभयो । कालोपत्रेका लागि आवश्यक उपकरण र निर्माण सामग्रीसमेत सबै निर्माणस्थलमा चिनियाँ पक्षले ल्याएको थियो । सो सडक कालोपत्रे यसअघि नै हुनुपर्ने भए पनि संरचनामा क्षति पुग्ने भएपछि पहिलेको लोकेसन परिवर्तन गर्नेतर्फ पहल गरिएको भए पनि कुरा नमिल्दा सम्झौतामा उल्लेख भएकै स्थानबाट सडक कालेपत्रे गरिएको छ । सडक कालोपत्रे भएकाले अब पुलसमेत नियमित हुने छ ।
यसअघि जिल्लाका आधा दर्जन छोटा सडकमा ढलान गरिएको भए पनि कालोपत्रे सडक गरिएको सडक भने पहिलो भएको छ । हिल्साबाट सिमकोटसम्मकाो ९५ किलोमिटर सडक पनि चिनियाँ पक्षले तीन वर्षमा स्तरोन्नति र कालोपत्रे गर्ने सम्झौता भए अनुसार चिनियाँ प्राविधिक टोली हिल्सा हुँदै सिमकोटसम्म सडकको विस्तृत सर्भे गरेर फर्किसकेको छ ।