• १७ भदौ २०८२, मङ्गलबार

महाकाली नदीको कटानले बस्ती जोखिममा

blog

दोधारा चाँदनी (कञ्चनपुर),  भदौ १७ गते ।  महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ । 

बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश बसाइँ सरेर अन्यत्र गइसकेका छन् । 

“नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकको छ । सरकारले यहाँ तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म नगर्दा बस्ती साघुँरिदै गएको छ”, उहाँले भन्नुभयो, “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बाढ्दै गएको छ ।”

विसं २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो । त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो । 

“विगतका वर्षमा आउने बाढीबाट धेरै दुःख पायौँ”, स्थानीय खडक बुढाले भन्नुभयो, “विसं २०७८ को बाढीले गाईभैँसी, बाख्रा सबै बगायो । घरमा रहेको अन्न पनि बचेन ।” यसवर्ष जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भएपछि डुबानबाट सुरक्षित हुने आशा गरिएको बताउँदै उहाँले निर्माण सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म बाक्लो बसोबास रहेको कुतियाकवर बाढीका कारण धेरै बसाइँ सरेर अन्यत्र गएपछि बस्ती पातलिँदै गएको हो । 

दोधारा-चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा ‘सेफहाउस’ (सुरक्षित आवास) निर्माण गरिएको बताउनुभयो । “महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ ।” उहाँले महाकाली र जोगबुढा नदीका विभिन्न स्थानमा जलमापन यन्त्र जडान गरेर त्यहाँको सूचना सिधैँ नगरपालिकामा आउने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।

बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिनुभयो ।

तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ । “करिब ५० बिघा क्षेत्रफलमा रहेको बस्ती हरेक वर्षको कटानले साघुँरिदै गएको छ । कटानका कारण सीमास्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ । २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ”, लिम्बूले भन्नुभयो । रासस