अमरराज नहर्की
तनहुँ, भदौ १७ गते । नेपाली चलचित्र ‘मालती मङ्गले’को छाँयाङ्कन तनहुँबाट सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिकामा रहेको ढोरवाराही मन्दिरबाट शुभारम्भ गरिएको हो । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चलचित्रको टोललिाई स्वागत गरेको छ ।
फिल्म निर्माणकर्ता गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेका ‘मालती मङ्गले’को छाँयाङ्कन शुक्लागण्डकीको राइपुरस्थित खोलाखेत, घिमिरेगाउँ, र तनहुँ–स्याङजा सीमा क्षेत्रमा पर्ने कोल्मा लगायतका स्थानमा हुनेछन् । छाँयाङ्कन शुभराम्भको अवसरमा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले फिल्म युनिटलाई स्वागत गर्दै, चलचित्रमार्फत पर्यटन प्रवर्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको बताउनुभयो ।
साथै उहाँले चलत्रित निर्माणले पर्यटन र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने बताउनुभयो ।” निर्माता गायक ढकालका अनुसार, ‘मालती मङ्गले’ले संघर्षरत प्रेमिल जोडीको कथा समावेश गरिएको छ । हास्य र सामाजिक सन्देशको पनि समावेश गरिएको उहाँले बताउनुभयो । गायक ढकालले भन्नुभयो, “समग्रमा यो चलचित्र सुन्दर प्रेमकथा र सामाजिक सन्देश दिने चलचित्रको उद्देश्य छ ।
फिल्म प्रकु पाण्डेको निर्देशनमा बन्नेछ । मुख्य अभिनयमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, शकु शाह, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, सुचित्रा उप्रेती र सागर भट्टराई रहेका छन् । पटकथा र संवाद संयोग गुरुगाईंले तयार गर्नु भएको छ । सहनिर्मातामा विन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईं र ईश्वर बजगाईं हुनुुहुन्छ । फिल्म रानी म्युजिक प्रालिको ब्यानरमा युनी इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भइरहेको छ । सङ्गीत राजनराज सिवाकोटीले दिनुभएको छ ।