केशव राज भट्ट
वाशुलिङ (बैतडी), भदौ १७ गते । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार मकैबारीमा जङ्गली जनावर मार्न थापिएको विद्युतिय पासोमा परेर भट्टको मृत्यु भएको हो । पार्वतीलाई करेन्ट लागेको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको प्रवक्ता पाण्डेयले बताउनुभयो ।
मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।