• १७ भदौ २०८२, मङ्गलबार

पहिरोले स्वास्थ्य संस्था, विद्यालय र खानेपानीमा क्षति

blog

पहिरोको क्षति पुर्‍याएको मालिका मावि चुन । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, भदौ १७ गते ।
रुकुमपश्चिमका विभिन्न विद्यालय, स्वास्थ्य संस्था, नीजि घर र खानेपानी योजनामा पहिरोले क्षति गरेको छ ।  लगातारको वर्षाका कारण आएको पहिरोले केहि विद्यालय, स्वास्थ्य चौकी र नीजि आवास भत्किएका छन् भने केहि उच्च जोखिममा रहेका छन् ।

पहिरोका कारण आठबिसकोट नगरपालिका –१४ ज्यामिरकोटमा रहेको आदर्श माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको छ । विद्यालयका प्रधानाध्यापक तिलक मल्लले पहिरोसँगैको ठुलो ढुङ्गाले विद्यालय भवन भत्किएको जानकारी दिनुभयो । उहाँका अनुसार भवन भत्किदा कार्यालयभित्र रहेका कुर्सी, बेन्च, झ्याल, वायरिङलगायतका सामग्रीमा लाखौँ मूल्य बराबरको क्षति पुगेको छ । सोहि वडाको बाँकेस्थित जनज्योती आधारभूत विद्यालय पनि वर्षासँगैको पहिरोको कारण उच्च जोखिममा रहेको छ । पहिरो झरिरहेको हुँदा विद्यालय भवनमा थप क्षति हुने सम्भावना रहेको विद्यालयले जनाएको छ ।

मुसीकोट नगरपालिका १० स्थित मालिका माध्यमिक विद्यालय चुनको भवन र घेराबारमा पहिराले क्षति गरेको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा निर्माण गरिएको घेराबार र अघिल्लो आर्थिक वर्षमा निर्माण गरिएको चारकोठे भवनमा पहिरोले क्षति पुर्याएको छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिका –१ मा रहेको जनएकता माध्यमिक विद्यालयको प्राङ्गन पहिरोले भत्किएको छ । आँगन नै पहिरोमा परेपछि विद्यालयका नवनिर्मित दुई वटा भवन पहिरोको उच्च जोखिममा रहेको विद्यालयका प्रधानाध्यपक गोविन्द मल्लले जानकारी दिनुभयो । विद्यालयमा भएको क्षति र जोखिमका कारण पठनपाठन प्रभावित भएको विद्यालयको भनाइ छ । पहिरो रोकथामको नगरे विद्यालय भवनमा थप क्षति हुने देखिन्छ ।

यसैगरी, त्रिवेणी गाउँपालिका –७ मुरुमा रहेको मुरु स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा रहेको छ । लगातारको वर्षाका कारण स्वास्थ्य चौकीको सडकतर्फको भागमा पहिरो गएको छ भने आँगन भासिएको छ । स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य अधिकृत शुसिल बिष्टका अनुसार स्वास्थ्य चौकी मुनिबाट खनिएको सडकका कारण स्वास्थ्य चौकी नै जोखिममा परेको छ । आँगनको भागसँगै स्वास्थ्य चौकीको भवनसम्मको भाग भासिएर जोखिम बढेको छ । पहिरोका कारण गत वर्ष निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको नवनिर्मित छ कोठे भवन जोखिममा रहेको बिष्टले जानकारी दिनुभयो ।

लगातारको वर्षाका कारण भिरालो जमिनमा भएका र भूकम्पले चर्किएका नीजि घरहरुमा बढी क्षति भएको छ । पहिरोकै कारण सानीभेरी गाउँपालिका –५ भदाले टोलका अनन्त कुसारीको दुई तले घर भत्किएको छ । सोहि टोलका बसन्त कुसारीको घरमा पनि पहिरो खस्दा घरमा क्षति पुगेको छ । बाढी र पहिरोकै सोहि वडाको गुदमडाँडा भन्ने बस्तीमा आउने खानेपानीको पाइपलाईन बगाएको छ । खानेपानी अवरुद्ध हुँदा यहाँका २० घर परिवार समस्यामा परेका छन् । स्थानीयका अनुसार स्थानीय कोप्चे खोलामा बाढी आउँदा करिव तीन सय मिटर पाईप बगाएको छ । अहिले यहाँका वासिन्दाले खोलाकै पानी उपयोग गरेको जनाएका छन् ।