चितवन समाचारदाता
चितवन, भदौ १७ गते । चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती मङ्सिरअगाडि नै कतार पठाउने तयारी गरिएको छ । सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले नेपाल सरकारले उपहारस्वरूप कतार सरकारलाई पठाउने भनी निर्णय गरिसकेकाले त्यसको तयारी भएको जानकारी दिनुभयो । हात्ती पठाउने तयारीका विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सबै तयारी पूरा गरेको उहाँले बताउनुभयो ।
निकुञ्जका अनुसार सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसादलाई पठाउने तयारी सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. हरिभद्र आचार्यले मङ्सिरभित्र कतार पठाउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कागजी प्रव्रिmया पूरा हँुदै छ । त्यति बेलासम्म खोर निर्माण गर्ने छौँ । अहिले बर्सातको समय भएका कारण लैजान सक्दैनौँ । दसैँतिहारपछि लैजाने गरी तयारी भएको छ ।” उहाँका अनुसार हात्ती लैजाने सम्पूर्ण खर्च कतार सरकारले बेहोर्ने छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विशेष चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने छ । कतारको चिडियाखानामा राख्न यी हात्ती पठाउन लागिएको हो । खोर निर्माणपछि ट्रकमा राखेर भैरहवा विमानस्थलमा लगिने छ । कतारबाट आउने कार्गो विमानमार्फत हात्ती पठाइने भएको हो ।
नेपालमा भन्दा कतारमा गर्मी धेरै हुने भएकाले त्यहाँ वातावरण अनुकूल बनाएर राख्ने व्यवस्था कतार सरकारले गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. आचार्यले बताउनुभयो । खगेन्द्र र रुद्रको बाबु जङ्गली हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिनुभयो । खगेन्द्रकी आमा कोशीकली र रुद्रकी आमा पूजाकली हो । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुबे, गोविन्दे जस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गरेका छन् ।
यसअगाडि नेपालले चीन सरकारलाई उपहारस्वरूप दिएका दुई गैँडामध्ये एउटा मरेको छ । अब अर्को एउटा गैँडा नेपालले पुनः पठाउनुपर्ने भएको विभागले जानकारी दिएको छ । अर्को पठाउने विषयमा सरकारले अनुमति दिएपछि मात्र पठाउने तयारी गर्ने आचार्यले जानकारी दिनुभयो । नेपालले विभिन्न मित्रराष्ट्रलाई एकसिङे गैँडा, हात्तीलगायतका वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबिचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महŒव अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन वन्यजन्तु उपहार दिइँदै आएको छ ।